बागमती र हरिवनको चुरे क्षेत्रमा सिँचाई पुर्याउन सर्भे सूरु

सर्भेका लागि प्राविधिकसहित किसानको बस्तीमा पुगेको मेयर भरत कुमार थापासहितको टोली । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीको बागमती र हरिवन नगरपालिकाको चुरे फेदिका भू–भागमा सिँचाई सुविधा पुर्याउन शनिवारबाट सर्भेको काम सुरु भएको छ ।

संघीय सरकारको सहयोगमा बागमती सिँचाई आयोजना कर्मैयामार्फत दुई नगरपालिकाको माथिल्लो भागमा सिँचाई सुविधा पुर्याउने उद्धेश्यले सर्भेको काम सूरु गरिएको हो । जिल्लाको दक्षिणी भागमा बागमती नहरको पानी लाग्ने गरेपनि पूर्व–पश्चिम राजमार्ग आसपास एवं उत्तरी भू–भागमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

बागमतीस्थित भुताहा भन्ने ठाउँबाट नदीको पानी सौर्य उर्जामार्फत लिफ्टिङ गरी चुरेमुनीका खेतबारीमा सिँचाईका लागि पुर्याउने योजनाका साथ सर्भेको काम सूरु भएको बागमती नगरपालिका–११ का वडाध्यक्ष प्रदीप आचार्यले जानकारी दिए । उनका अनुसार यस योजनाका लागि यो वर्ष २ करोड रुपैयाँ बजेट प्राप्त भएको छ ।

बागमती नगरपालिलकाको वडा नं. ११ बाट सुरु भएको सर्भेको काममा प्राविधिकहरुसहित बागमती नगरपालिकाका प्रमुख भरत कुमार थापा, बागमती सिँचाई आयोजनाका प्रमुख मित्र बराल लगायत सहभागी भए । शनिवार बागमती नगरपालिकाको वडा नं. १ स्थित हरिवन खोलासम्म नै सर्भेको काम पूरा भएको वडा नं. १ का वडाध्यक्ष गम्भीरसिंह पाख्रिनले बताए ।