बलात्कारीलाई फाँसीको सजाय माग्दै युवाले बुझाए ज्ञापन पत्र

5
प्रजिअ पौडेललाई आईतबार दिउँसो ज्ञापनपत्र बुझाउँदै युवाहरु । (तस्बिर : कमल महतोको फेसबुकबाट)

मलंगवा – बलात्कारका घटना पटक–पटक बढ्दै गएको भन्दै जिल्ला युवा संजाल सर्लाहीले बलात्कारीलाई फाँसीको सजाय सहितको कानूनी व्यवस्था मिलाउन आग्रह गर्दै प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाएको छ ।

जिल्ला युवा संजाल सर्लाहीले आईतबार दिउँसो प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र पठाएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रधानमन्त्री कार्यालयलाई पठाईएको ज्ञापन पत्रमा महोत्तरीको बर्दिवास स्थित ६ बर्षीया गुलाब साह खातुन को हत्या आरोपी अरुण साहलाई कडा कार्वाहीको समेत माग गरिएको छ ।

संजालका अध्यक्ष कमल महतोद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मंसिर ८ गते ६ वर्षीया बालिकाको बलात्कार पश्चात हत्या गरिएको एवं हत्या घटनाको निश्पक्ष छानविनको माग राखेर बर्दिबासमा भएको आन्दोलनमा बुद्धिराज न्यौपाने (संजय) लाई प्रहरीले गोली हानी हत्या गरेको घटनाले जिल्ला युवा संजाल सर्लाहीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

दुवै घटनाको निश्पक्ष छानविन गरी बलात्कार एवं हत्यामा संलग्न अरुण साहलाई कडा भन्दा कडा कानूनी कार्बाहीको माग गर्दै प्रहरीको गोली लागेर मृत्यु भएका न्यौपानेलाई क्षतिपूर्ति र न्याय दिलाउन समेत आग्रह गरिएको छ । बलात्कारका घटना रोक्नका लागि कानूनमै बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने संजालले मा गरेको छ ।