साँढेचार महिना बितेपनि पालिकाहरुको योजना कार्यान्वयन सुस्त

7
लालबन्दी नगरपालिका कार्यालय । तस्बिर : उज्यालो अभियान

लालबन्दी – सर्लाहीका अधिकांश स्थानीय तहमा यो वर्ष पनि योजना कार्यान्वयनमा ढिलाई हुने देखिएको छ ।

आर्थिक वर्षको अन्तिममा हतारहतार योजना सम्पन्न गर्ने प्रवृत्ति रहेको स्थानीय तहहरुमा यो वर्ष झन कोरोना सङ्क्रमणले गर्दा योजना कार्यान्वयनमा थप ढिलाई भएको हो । आर्थिक वर्ष २०७७/०७८ को चार महिना बितिसक्दा समेत यहाँका अधिकांश स्थानीय तहले योजनाहरु सुरु नै गरेका छैनन् ।

दक्षिणी भेगका पालिकाहरुमा योजना कार्यान्वयनका लागि प्राविधिक क्षेत्रका कर्मचारीको अभाव छ । प्राविधिक उपलब्ध रहेका राजमार्ग क्षेत्रका पालिकाहरुले पनि बेलैमा योजना सुरु गर्न सकेका छैनन् । हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले केही दिनअघि उज्यालो अभियानसँगको कुराकानीमा मंसिर लागेपछि नगर सभाबाट पारित योजनाहरु अब धमाधम कार्यान्वयनको चरणमा लगिने बताएका थिए ।

उत्तरी भेगको ईश्वरपुर नगरपालिकाले केही सडक कालोपत्रेको काम सुरु गर्ने बाहेक अन्य योजना अघि बढाइसकेको छैन् । यस्तै लालबन्दी र बागमती नगरपालिकामा पनि योजना कार्यान्वयनको पाटो सुस्त छ । दक्षिण सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाका मेयर अभय कुमार सिंहले योजनाहरुलाई अब गति दिईने बताएका छन् । उनले योजना कार्यान्वयनमा ढिलाई भएको स्वीकार गरे ।

दक्षिण पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकाका प्रमुख शियाराम रायले प्रमुख प्रशासकीय अधिकृत रहीरहे यो वर्ष अधिकांश योजना सम्पन्न गर्ने लक्ष्य रहेको बताए । हरिपूर्वा लगायत दक्षिणका पालिकाहरुमा प्रमुख प्रशासकिय अधिकृत धेरै नटिक्ने र जनप्रतिनिधिबीच टकराब चलिरहँदा विकासका काम प्रभावित हुँदै आएका छन् । गाउँपालिका तथा नगरपालिकाहरुले आर्थिक वर्षको अन्तिममा बजेट सक्नकै लागि छिटोछिटो योजना कार्यान्वयन गर्दा काममा कमगुणस्तर र प्रभावहिन देखिँदै आएको छ ।