सडक बनाउन माग गर्दै ईश्वरपुरमा बजार बन्द

6

वयलवास – ईश्वरपुरका व्यापारीहरुले फूलजोर–त्रिभुवननगर सडक निर्माण कार्यमा भएको ढिलाई प्रति असन्तुष्टि जनाउँदै मंगलवार बयलवास बजार क्षेत्र बन्द गराएका छन् ।

निर्माण सुरु गरेको लामो समय भैसक्दा समेत सडकको निर्माण कार्य पुरा नभएको भन्दै स्थानीय व्यापारीले बजार बन्द गराएका हुन् । धूलोले आजित भएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको व्यापारीहरुको भनाई छ ।

व्यापारीहरुले एकै ठाउँमा जम्मा भई सडक निर्माण कार्यलाई तीव्रताका साथ अगाडी बढाउनुपर्ने, धूलो धेरै उड्ने भएकाले पानी छिट्नुपर्ने, सडक तथा बजार सरसफाईमा ध्यान दिनुपर्ने लगायतका माग राख्दै ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार देवकोटालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

नगरप्रमुख देवकोटाले ठेक्का पाएको ठेकेदार कम्पनीका प्रमुखले फोनमा कुरा गर्दा अहिले आफू काठमाडौमा रहेको र त्यहाँबाट फर्किएपछि निर्माण कार्यमा तीव्रता दिने जानकारी दिएको बताएका उद्योग वाणिज्य सङ्घ ईश्वरपुरका उपाध्यक्ष रामप्रित चौधरीले बताए । अहिलेलाई नगरप्रमुख देवकोटाले बाटो चाँडोभन्दा चाँडो बनाउन पहल गर्ने बताउँदै बजारको सरसफाईमा ध्यान दिनुपर्ने र धूलो उड्न नदिनका लागि पानी छिट्नुपर्ने मागमा सहमती जनाएकाले बजार खोलीएको उपाध्यक्ष चौधरीले जानकारी दिए ।