हुलाकी सडक बनाउन सरोकारवालाले देखाए चासो

4
सर्लाहीको भेल्हीस्थित धूलाम्मे अवस्थामा रहेको हुलाकी सडक । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – धूलोले उकुसमुकुस हुने गरी खराब अवस्थामा रहेको सर्लाहीको हुलाकी सडकको निर्माणमा सरोकारवालाले बल्ल चासो देखाएका छन् ।

हिजोआज धूलो उडेर हिँड्नै नसकिने भएको सडकको काम अगाडि बढाउन सोमबार सदरमुकाम मलंगवामा सरोकारवालाबीच सामान्य छलफल भएको छ । सोमबारको छलफलले मंसिर १३ गते शनिवार सडक निर्माण कार्यलाई तत्काल कसरी अगाडि बढाउने भन्ने विषयमा बृहतमै छलफल गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले उज्यालो अभियानसँग बताए ।

चौधरीका अनुसार छलफलमा ठेकेदार र इन्जिनियर समेतलाई बोलाई जिल्लाका प्रतिनिधि तथा प्रदेश सभाका सांसद, प्रमुख राजनीतिक दलका नेता, पालिका प्रमुख, सुरक्षा प्रमुख, नागरिक समाज लगायत सबै पक्षबीच छलफल गर्ने निर्णय गरेको हो । त्यसदिनको छलफलपछि सडक निर्माणमा दबाब पर्ने चौधरीले विश्वास व्यक्त गरे ।

जिसस प्रमुख चौधरीकै कार्यकक्षमा भएको सोमबारको छलफलमा मलंगवा नगरपालिकाका मेयर निरसल साह, कविलासी नगरपालिकाका मेयर कौशलकिशोर यादव, नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्त, कांग्रेस मलंगवा नगर समितिका सभापति चन्द्रकिशोर साह, जसपाका नेता वीरेन्द्र राय, उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष वीरेन्द्र साह, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अब्दुल रहीम मिकरानी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल–भारत सीमाबाट केही उत्तरतर्फ जिल्लाको पश्चिम बलरादेखि पूर्व संग्रामपुरसम्मको हुलाकी सडक अत्यन्त जर्जर अवस्थामा छ । यो सडक भएर यात्रा गर्दा यात्रुहरु धूलोले बिरामी नै पर्ने अवस्था र छेउछाउका वासिन्दा अत्यन्त प्रभावित भइरहेको समाचार उज्यालो अभियान दैनिकले बारम्बार प्रकाशित गरेपछि जिल्लाका सरोकारवालाहरु सडकप्रति ध्यान दिन बाध्य भएका हुन् ।

हुलाकी सडकको मलंगवादेखि पूर्व संग्रामपुरसम्म एक खण्ड, मलंगवादेखि पश्चिम रोहुवासम्म अर्को खण्ड र फेरि त्यहाँदेखि बलरास्थित बागमती खोलासम्म अर्को खण्ड गरी तीन खण्डमा ठेक्का लागेको छ । ठेकेदारले बीचमा माटो भर्ने काम गरेपनि त्यसबाहेक थप प्रगति नहुँदा सडकमा हिउँदका महिना कुहिरी मण्डल भएर धूलो उड्ने गरेको छ भने हिउँदमा पोखरी झैँ हिलाम्मे हुने गरेको छ ।

सोमबारको छलफलमा नेपाल–भारत सीमा नाका खुलाउन मुख्यमन्त्रीमार्फत संघीय सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको जिल्ला समन्वय समितिका सभापति चौधरीले उज्यालोसँग भने । खेतबारी र अन्य बाटो हुँदै आवतजावत भइरहेकाले मुख्य सीमा नाकाहरु खोल्न माग गर्दै सदरमुकाम मलंगवामा छठअघि सांसद, पालिका प्रमुख लगायतको उपस्थितिमा दशगजामै दुई दिन धर्ना दिइएको थियो ।