सर्लाहीबाट सबै भन्दा बढी कर तिर्ने सगुन सहकारी सम्मानित

10
सम्मान ग्रहण गर्न जनकपुर पुगेको सगुन सहकारीको टिम ।

हरिवन – सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था आर्थिक वर्ष २०७५/०७६ मा सर्लाही जिल्लाबाट सबै भन्दा बढी आय कर बुझाएर सम्मानित भएको छ ।

आन्तरिक राजस्व कार्यालय जनकपुरले ९ औँ राष्ट्रिय कर दिवसका अवसरमा आफ्नो कार्य क्षेत्रभित्र पर्ने सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीका उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा सर्लाहीबाट सगुन सहकारी सम्मानित भएको हो । संस्थाका अध्यक्ष बाबुराम घिमिरे, संचालकहरु राजकुमार उप्रेती र केशव ढकाल, प्रवन्धक रवीन्द्र राना हिजो आइतवार जनकपुर पुगेर सम्मान पत्र ग्रहण गरेका हुन् ।

संस्थाले आयकर २९ लाख ५३ हजार २ सय २७ रुपैयाँसहित जम्मा ८४ लाख ६७ हजार ५ सय ८९ रुपैयाँ ७३ पैसा कर बुझाएको संस्थाका प्रवन्धक रानाले जानकारी दिए । सगुनलाई केही दिनअघि मात्रै नेपाल बचत तथा केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले प्रदेश २ कै उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको थियो ।