सर्लाहीमा पनि छठको रौनक, पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

7
बागमती नदी स्थित सजियाघाटमा अहिले साँझ अस्ताउँदो सूर्यको आरधना गर्दै एक व्रतालु महिला । (तस्बिर : श्रवण थापा/उज्यालो अभियान)

लालबन्दी – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व अस्ती बुधबारदेखि सुरु भएको हो । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । आज रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन भोली बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

सर्लाहीमा सदरमुकाम मलंगवासहित बागमती नदी, मनुष्मारा नदी, लखन्देही खोला, ढंग्रा खोला, हरिवन, नवलपुर, लालबन्दी, ईश्वरपुर, बरहथवा लगायत जिल्लाभरका पोखरी, नहर लगायत जलाशयमा सरसफाई गरी छठ पर्व मनाउने तयारी भइरहेको छ । व्रतालु र परिवारका सदस्य पूजाको सामग्री लिएर जलाशयमा जाने क्रम दिउँसोबाट सुरु भइसकेको सर्लाहीका विभिन्न स्थानमा रहेका हाम्रा संवाददाताहरुले जनाएका छन् । केहीले भने घरमै पर्व मनाउँदै छन् । छठको अवसरमा आज प्रदेश २ सरकारले बिदा दिएको छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुकी काठमाण्डौंको गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपतिले समेत छठ पूजा गर्नुहुने कार्यक्रम यस वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको जनाइएको छ ।