वर्षौदेखि डुंगामा हेलिनुपर्ने स्थानमा पक्की पुल, स्थानीय दंग

19
सर्लाही र रौतहटलाई जोड्ने बाग्मती खोलामा निर्मित पक्की पुल । (तस्बिर : उज्यालो अभियान)

महिनाथपुर – सर्लाहीको महिनाथपुर र रौतहटको धरमपुर सिंहारमन गाउँलाई जोड्ने गरी बागमती खोलामा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सजिलो भएको छ ।

डुङ्गामा चढेर खोला वारपार गर्नुपर्ने ठाउँमा साँढे सात सय मिटर लामो पक्की पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दालाई खोला वारपार गर्न सहज भएको हो । सर्लाहीको धनकौल गाउँपालिका–४, महिनाथपुर र रौतहटको गढिमाई नगरपालिका–६, धरमपुर गाउँलाई जोड्ने गरी निर्माण गरिएको पक्की पुलबाट अहिले खेती किसानीका लागि वारपार गर्नुपर्ने किसानसँगै टायरगाढा, साइकल, मोटरसाइकल र अन्य सवारी साधन ओहोरदोहोर गरिरहेका छन् ।

लामो क्षेत्रफलमा फिँचिएर खोला बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारीपारी रहेको खेतबारीमा काम गर्नका लागि जान तथा अन्य प्रयोजनाका लागि खोला तर्न सहज भएको धनकौल गाउँपालिकास्थित छटौल बखरीका रामदयाल साहले बताए । पहिले खेतपातीका लागि डुङ्गालाई वार्षिक अन्नबाली बुझाएर आवतजावत गर्नुपर्दा निकै समस्या हुन्थ्यो, पुल बनेपछि ढुक्क भएको छ, साहले भने ।

एक करोड २५ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको रौतहटको गढिमाई नगरपालिका–६, का वडाध्यक्ष रामसिंहासन यादवले जानकारी दिए । उनले पुल छेउछाउमा बाँध निर्माण लगायतका काम गर्दा डेढ करोडको हाराहारीमा खर्च हुने अवस्था रहेको बताए ।

सर्लाहीको बलरा नगरपालिका र रौतहटको जमुनामाई दुवैतर्फ घर रहेका राघु यादवले अति आवश्यक स्थानमा पुल बनेपछि स्थानीय वासिन्दालाई आवागमनमा अत्यन्त सहज भएको बताए । यो क्षेत्र अत्यन्त विकट छ, पुलबाहेक अन्त हेर्नु भयो भने सौराहको जङ्गल जस्तै मान्छे नै हराउने फाँट छ, यादवले भने, पुल बन्दा स्थानीयहरु निकै खुशी छन् । अब छेउछाउका बाटो पनि बन्यो भने स्थानीयलाई ठूलो राहत महसुस हुन्छ ।

सर्लाहीका प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले पुल निर्माण कार्य पूरा भएपनि सर्लाही र रौतहट दुवैतर्फ बाटो निर्माणको काम भने पूरा नभएकाले स्थानीयलाई समस्या भइरहेको बताए । उनले खोला बग्ने स्थानमा बनेको पुलसम्म पुग्ने बाटो पनि तत्कालै निर्माण भए आवतजावतमा सहजता मिल्ने बताए ।

यो स्थानमा पक्की पुल बनेपनि सर्लाही र रौतहटलाई जोड्ने अन्य विभिन्न स्थानमा लामो समयदेखि पुल निर्माण कार्य अलपत्र रहेको छ ।