राहत र उपचार खर्च माग्दै राजमार्गमा प्रदर्शन

9
बिहिवार बिहान नवलपुरस्थित राजमार्गमा प्रदर्शन गर्दै पुनर्वासवासी । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – झण्डै एक महिनाअघि भएको सवारी दुर्घटनाको विषयलाई लिएर सर्लाहीको पुनर्वासका स्थानीयले बिहिवार नवलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् ।

दशैँको टीकाको दिन नवलपुर चौकबाट केही दक्षिण पहिचान नभएको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार पुनर्वासका चार युवक घाईते भएका थिए । त्यसमध्ये अंकुश पासवानको उपचारका क्रममा मृत्यु भएको थियो भने निशान्त पासवान र रितिक पासवानको अहिले काठमाण्डौंमा उपचार चलिरहेको छ । घाईते एक युवक उपचारपछि घर फर्किसकेका छन् ।

दुर्घटनाका मृतकलाई कानुन बमोजिम राहत रकम र घाईतेलाई उपचार खर्चको प्रवन्ध मिलाउन माग गर्दै पुनर्वासवासीले बिहिवार राजमार्गमा करिव एक घण्टा नाराबाजीसहित प्रदर्शन गरेका हुन् । स्थानीयले वुधवार सदरमुकाम मलंगवा पुगेर प्रदर्शन गरेका थिए ।

लालबन्दी प्रहरीले दुर्घटनामा संलग्न रहेको आशंकामा लालबन्दी नगरपालिका २ बाटै एउटा ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखिरहेको छ । ट्याक्टर चालकले आफूले दुर्घटना गराएको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

तर ट्याक्टरधनीले भने चालकले कसैको प्रभावमा परी दुर्घटना गराएको दिन घरमै रहेको ट्याक्टरले दुर्घटना गरायोे भनी गलत कुरा स्वीकारी रहेका दावी गर्दै आएका छन् । लालबन्दी प्रहरीले घटनाको निष्पक्ष छानविन जारी रहेको जनाएको छ ।