लालबन्दीमा आकस्मिक आश्रय भवन, श्रममन्त्रीद्वारा शिलान्यास

10
भवन शिलान्यास समारोहमा उपस्थित मन्त्री यादव र अन्य । (तस्बिर ः उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा बन्ने आकस्मिक आश्रय भवनको हिजो (वुधवार) शिलान्यास गरिएको छ ।

बाढी, डुबान, भूकम्प तथा अन्य विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले बनाउन लागिएको ईमरजेन्सी सेल्टर अर्थात आकस्मिक आश्रय भवनको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री यादवले बर्सेनि बाढी तथा डुबान, आगलागी जस्ता प्राकृतिक विपतिको सामना गर्नुपर्ने यस क्षेत्रमा यो भवन बनेपछि अति नै लाभादायी हुने बताए ।

सङ्घीय सरकारको दुई करोड ५० लाख रुपैयाँ लागतमा आकस्मिक आश्रय भवन बनाउन लागिएको हो । भवन एक वर्षभित्रै बनाईने छ ।

तुलसी टोलस्थित नवनिर्मित वडा कार्यालय भवन छेउमै भवन बनाईने लालबन्दी नगरपालिका–१० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा कार्यालय भवन बनाएर बाँकी रहेको जग्गामा आश्रय भवन बनाउन दिइएको छ ।

वडा कार्यालयका लागि दानवीरहरु लक्ष्मण श्रेष्ठ, प्रशान्त आचार्य, कृष्ण दाहाल, गोबिन्द महत, सूर्यनारायण श्रेष्ठ, लालबहादुर गोले, दिलकुमारी पाख्रिन लगायतले चार कठ्ठा पाँचधुर जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

वडाध्यक्ष श्रेष्ठको अध्यक्षता एवं मन्त्री यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य द्वोय डिल्ली प्रसाद उपे्रती र बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, संविधान सभा सदस्य प्रकाश पाख्रिन, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, नेकपा जिल्ला इन्चार्ज डाचाराज वाग्ले, नेपाली कांग्रेसका नेताहरु दीपक अधिकारी, कुवेर आचार्य लगायतको आतिथ्यता थियो ।