ग्याँस लिक भएर आगलागी हुँदा खाना पकाईरहेकी महिलाको मृत्यु

9
प्रतिकात्मक तस्बीर ।

ब्रम्हपुरी – सर्लाहीको ब्रम्हपुरीमा ग्याँस सिलिण्डर लिक भएर आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ ।

ब्रम्हपुरी गाउँपालिका वडा नम्वर ४ का श्रीचन दासकी श्रीमती ५५ वर्षीया फूलमती पासवानको आगोमा जलेर मृत्यु भएको हो । बुधवार बिहान खाना पकाउने क्रममा ग्याँस सिलिण्डरबाट ग्याँस लिक भई आगलागी हुँदा शरीरका अधिकांश भाग जलेर घाईते फूलमतीको उपचारका क्रममा बुधवार साँझ नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

महिलालाई जिल्ला अस्पताल मलंंगवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगंंज पुर्याईएकाे थियो ।

यस्तै जिल्लाको बलरा नगरपालिका वडा नम्बर ९ नरहरगन्जमा बुधवार दिउँसो आगलागीबाट १८ कठ्ठामा लगाइएको तीन लाख रुपैयाँ बराबरको उखु जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय रामसोगारथ दास, प्रमोद दास र शम्भु दासको खेतमा लगाइएको उखु जलेर खरानी भएको हो ।

यसैगरी लालबन्दी नगरपालिका वडा नम्वर ५ मा बुधवार राती स्थानीय थानेश्वर बखे्रलको गोठमा आगलागी भएको छ । आगोले गोठ पूर्णरुपमा जलेर नष्ट हुँदा ८० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितलाई उद्वृत गर्दै ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बलरा र लालबन्दी दुवै स्थानमा भएका आगलागीको कारण खुल्न सकेको छैन् ।