सीमा नाका खुलाउन माग गर्दै मेयर र सांसद नै धर्नामा

18
धर्नामा बसेका प्रदेश सभाका सांसद र अन्य । तस्बिर सौजन्य : सोहन कुमार झाको फेसबुकबाट

मलंगवा – भारतीय सीमा नाका खुलाउन माग गर्दै सर्लाहीमा आज (मंगलवार) बाट आन्दोलन सुरु भएको छ ।

नाका खुलाएर आवागमन सहज बनाउन माग गर्दै सदरमुकाम मलंगवामा आन्दोलन सुरु भएको हो । आन्दोलनको कार्यक्रम अन्तर्गत आज पहिलो दिन दशगजा नजिकै सदरमुकाम मलङ्गवास्थित गोरखकाली नाकामा दुई घण्टा धर्ना दिइएको छ ।

धर्नामा प्रदेश सभाका चार जना सांसद, जिल्ला समन्वय समितिका प्रमुख, सीमावर्ती क्षेत्रमा पर्ने विभिन्न पालिकाका प्रमुख, पूर्व सभासद्, व्यवसायी, नागरिक समाजका अगुवा र स्थानीय वासिन्दाहरु सहभागी थिए । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको धर्ना कार्यक्रममा प्रदेश सभाका सांसदहरु अशोक कुमार यादव, उपेन्द्र कुशवाहा, गौरीनारायण साह र निलमदेवी भूमिहार्नी समेत सहभागी भए ।

यसैगरी जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साह र अन्य पालिकाका प्रमुखहरु पनि धर्नामा सहभागी भई सीमा नाका खुलाउन माग गरे । खेतबारी र अन्य वैकल्पिक सडक हुँदै मानिसको निर्वाध आवतजावत भइरहेकाले मुख्य सीमा नाका मात्रै बन्द गरिरहनुको कुनै अर्थ नरहेको भन्दै जिल्लामा केही समय अघिबाटै सीमा नाका खुलाउनु पर्ने माग उठ्दै आएको छ ।

प्रदेश सभा सदस्य अशोक कुमार यादवले मुख्य सीमा नाकाबाट रातारात तस्करीको सामान पास भइरहेको, तर आम नागरिकलाई कोरोना भाईरसको सङ्क्रमण सर्ने भन्दै निर्वाध रुपमा वारपार गर्नबाट बञ्चित गरिएको आरोप लगाए । आन्दोलनको कार्यक्रम अन्तर्गत भोली पनि आजको झैँ गोरखकाली नाकामै दुई घण्टा धर्ना दिने कार्यक्रम छ ।

राज्यले तत्कालै नाका खुलाउन पहल नगरे आन्दोलनका थप कार्यक्रमहरु तय गरिने प्रदेश सभा सदस्य यादवले बताए । सीमा नाका खुलाउन माग गर्दै केही दिन पहिले दक्षिणी भेगको विभिन्न पालिकाका प्रमुखहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अब सीमा नाका खुलाउनु पर्छ भन्ने सीमा क्षेत्रका नागरिकको तर्फबाट आवाज उठिरहेको भन्ने कुरा लिखित रुपमा गृह मन्त्रालयलाई जानकारी गराईएको बताए । उनले अन्तराष्ट्रिय सीमा नाकाको हकमा सरकारको निर्णय बेगर जिल्लाबाट कुनै निर्णय गर्न नमिल्ने प्रष्ट पारे ।

सरकारको निर्देशनपछि सर्लाहीका मुख्य सीमा नाकामा सुरक्षाकर्मीहरु ढाट तेर्साएर बस्ने गरेका छन् । मन्त्री परिषद्को पछिल्लो बैठकले यही मङ्सिर मसान्तसम्म देशभरका सीमा नाकाहरु बन्द नै राख्ने निर्णय गरेको थियो ।

गत चैतदेखि पटक–पटकको बैठकले सीमा नाका बन्द गर्ने निर्णय गर्दै आएको छ ।