सर्लाहीको हरिवनमा प्रेस काउन्सिलको अन्तरक्रिया सम्पन्न

कार्यक्रममा उपस्थित बायाँबाट क्रमशः सञ्चालक विशाल पौडेल, काउन्सिल सदस्य नवलकिशोर यादव, प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल, महासंघ सचिव श्रवण थापा । (तस्बिर : उज्यालो अभियान)

हरिवन – प्रेस काउन्सिल नेपालले सर्लाहीको हरिवनमा विहिबार बिहान एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा पारेको प्रभाव विषयमा अन्तरक्रिया कार्यक्रम भएको हो । नेपाल पत्रकार महासंघ सर्लाहीको संयोजन रहेको कार्यक्रम महासंघ सर्लाहीका सचिव श्रवण थापाको अध्यक्षता एवं प्रेस काउन्सिल नेपालका सदस्य नवलकिशोर यादवको प्रमुख आतिथ्यता रहेको थियो । कोभिड–१९ ले पत्रकार एवं मिडिया क्षेत्रमा परेको असर न्युनिकरणका लागि काउन्सिल लागि परेको उल्लेख गर्दै सदस्य यादवले श्रमजिवी पत्रकारहरुलाई निश्काषन गर्ने, पारिश्रमिक नदिने लगायत ठूला मिडियाको कार्य प्रति समेत काउन्सिलले आवश्यक कदम चालिरहेको दाबी गरे । उनले पत्रकारहरु एवं सम्बद्ध संघ संगठनले समेत एकजुट भएर समस्या समाधानको दिशामा अगाडी बढ्नुपर्ने औंल्याए ।

कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले मिडिया क्षेत्रमा परेको समस्या सम्बोधनका लागि काउन्सिलले गरिरहेको प्रयास, आचार संहिता विपरित काम गर्ने मिडियामाथि कारबाही प्रकृया लगायत बारेमा प्रष्ट्याएका थिए । प्रेस काउन्सिलकै विशाल पौडेलको सञ्चालन रहेको कार्यक्रममा नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलियाले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रेस संगठन नेपालका अध्यक्ष अच्युत कुमार सापकोटा, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष घनश्याम बलम्पाकी, उज्यालो अभियान मिडियाका अध्यक्ष टंकबहादुर क्षेत्री, सर्लाही दैनिकका प्रकाशक डुकुप्रसाद कोईराला, ढुकढुकी एफएमका व्यबस्थापक अभिषेक नगरकोटी, रेडियो सर्लाहीका व्यबस्थापक सञ्जु कर्ण, रेडियो एकताका व्यबस्थापक प्रकाश मैनाली लगायतले कोभिड–१९ ले मिडिया क्षेत्रमा पारेको असर र सर्लाहीको अवस्था आदि बारेमा जानकारी गराएका थिए ।

बुधबार महोत्तरीको जलेश्वरमा कार्यक्रम गरेको काउन्सिलको टोली विहिबार बिहान सर्लाही आईपुगेको हो । हरिवनको कार्यक्रम लगतै उक्त टोली सदरमुकाम मलंगवाका मिडियाहरु अनुगमन गर्न गएको छ भने, दिउँसो रौतहटमा कार्यक्रम रहेको छ ।