भर्चुअल तेक्वान्दोका स्वर्ण बिजेता ढुंगेल सम्मानित

लालबन्दी – प्रथम अन्तराष्ट्रिय भर्चुअल तेक्वान्दोका स्वर्ण पदक बिजेता सर्लाहीको लालबन्दी नगरपालिका–५, का आयुष ढुंगेललाई मंगलवार सम्मान गरिएको छ ।

ढुंगेलकै वडामा रहेको समृद्ध बहुमुखी क्लबले प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा सम्मान पत्र प्रदान गरी सम्मान गरेको क्लबका सचिव सुवास ढुंगानाले जानकारी दिए । ढुंगेल ब्राजिल तेक्वान्दो महासंघले नोभेम्बर ९ र १० तारिखमा आयोजना गरेको यू–14 अर्थात १४ वर्ष मुनिको पुरुष एकल पुम्सेमा स्वर्ण पदक जित्न सफल भएका थिए ।

आयुषले जिल्ला, क्षेत्र तथा राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा यसअघि पनि थुपै्र पदक हात पारिसकेका छन् । समृद्ध बहुमुखी क्लबका अध्यक्ष शिवराज धमलाको अध्यक्षता तथा प्रदेश सभा सदस्य लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित खेलाडी सम्मान कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष मोहनहरि भण्डारी, सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ (विष्णु), तेक्वान्दो प्रशिक्षक प्रभुनारायण शिवाकोटी, नेकपा लालबन्दी नगर कमिटीका सचिव लेखाराम जर्गा मगर लगायतको आतिथ्यता रहेको थियो ।