तीहार र छठका लागि किनमेल बढ्यो

5
छठका लागि बजारमा बाँसबाट बनेका सामग्री बेच्दै डोम समुदाय । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीका बजारमा तीहार (दिपावली) र छठका लागि किनमेल गर्नेहरुको चहलपहल बढेको छ । तीहारमा प्रयोग हुने भाईमसलासँगै खाद्यान्न, कपडा र छठमा प्रयोग हुने सरसामानको किनमेल गर्नेहरु बढेका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा सोमवार बजारको दिन तीहार र छठको किनमेल गर्नेहरुको भीड देखियो । यहाँ ग्रामीण भेगका नागरिक किनमेलका लागि बढी मात्रामा आउने गरेका छन् । यस्तै जिल्लाको हरिवन, बयलवास, बरहथवा, मलंगवा लगायतका मुख्य बजार र भित्री हाटबजारमा समेत किनमेल गर्नेहरुको चहलपहल बढिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

दक्षिण सीमावर्ती गाउँका वासिन्दा भने दीपावली र छठको किनमेल गर्न भारतीय बजारमा जाने गरेका छन् । कोरोना भाईरसको बढ्दो संक्रमणका बीच सामान्य जनस्वास्थ्य मापदण्ड पालना नगरी बजारमा भीडभाड हुँदा भित्रभित्रै संक्रमण फैलावटमा मद्धत पुगिरहेको भन्दै जनस्वास्थ्यविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

बजारमा आउने अधिकांश मानिसले मास्कको समेत प्रयोग गरेका छैनन् । यसले कोही संक्रमित मानिस बजार आएको खण्डमा थप व्यक्तिहरुमा संक्रमण सार्ने जोखिम धेरै हुने चिकित्सकहरुको भनाई छ ।