घुँगी बेचेर लोभलाग्दो कमाई गर्दै उर्मीला

11
सर्लाहीको बाग्मतीस्थित सोल्टी बजारमा घुँगी बेच्दै गरेकी उर्मिलादेवी सहनी । (तस्बिर ः उज्यालो अभियान)

शंकरपुर – गाउँ घरमा रोजगारी नपाएको भन्दै सर्लाहीको दक्षिणी भेगबाट कामको खोजीमा प्रत्येकजसो घरका एक जना सदस्य भारततर्फ जाने गर्छन् ।

त्यसरी कामको खोजीमा भौतारिँदै भारत पस्नेहरुका लागि जिल्लाको दक्षिणी भेगमै पर्ने धनकौल गाउँपालिका–२, ढापटोलकी उर्मिलादेवी सहनी मेहनत र कामलाई सानो ठूलो नभनी गाउँघरमै स्वाभलम्वी बनेर मनग्य आम्दानी गर्न सकिन्छ भने उदाहरणको पात्र बनेकी छिन् । मधेसमा अत्यन्त पिछडिएको जातिमा पर्ने सहनी परिवारकी उर्मिलादेवीले घुँगी बेचेरै लोभलाग्दो आम्दानी गर्दै आएकी छिन् । आफूले दुई वर्षदेखि घुँगी बेचेर महिनाको ४० हजार रुपैयाँ भन्दा बढी कमाई गर्दै आएको उर्मिलादेवीले बताईन् ।

उनले घर छेउछाउका नहर, पोखरी र मनुष्मारा खोलाबाट जम्मा गरेको घुँगी स्थानीय हाटबजारमा सजिलैसँग बिक्छ । ‘एक दिनमा २० देखि २५ किलोसम्म घुँगी जम्मा गर्छु, बिक्रीको कुनै चिन्ता छैन्, गाउँघर र हाटबजारमा सजिलै बिक्री हुन्छ’, उनले भनिन् । घुँगी प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री हुन्छ ।

उर्मिलादेवीले घुँगी बेचेरै एक छोरा, दुई छोरीलाई शिक्षादिक्षा दिनुका साथै उनीहरु र श्रीमानसमेतको पालनपोषण गर्दै आएकी छिन् । घुँगी बेच्न थालेपछि आफ्नो जीवनमा परिवर्तन आएपछि उर्मिलादेवी र उनको परिवार खुशी छ ।

अन्य कुनै सीप नभएकाले आफूले घुँगी जम्मा गरेर बेच्न थालेको उर्मिलादेवीले सुनाईन् । ‘आम्दानी नहुँदा छोराछोरी पढाउन र बिहान बेलुकाको छाक टार्नै मुस्किल पथ्र्यो । अहिले त श्रीमानले पनि मजदुरी गरेर थेरथोर कमाउनु हुन्छ, मैले पनि राम्रै आम्दानी गरिरहेको छु । परिवार पाल्न गाह्रो छैन्’, उर्मिलादेवीले भनिन् ।

घुँगी बेचेर कमाएको पैसाले छोराछोरीको पढाई खर्च, घर व्यवहार चलाउनुका साथै १० धुर घडेरी समेत किनिसकेको उनले बताईन् । वर्षायाममा डुबान र भलबाढीले घुँगी संकलनमा समस्या हुने गरेको भएपनि अहिले हिउँदका समयमा सजिलो रहेको उनको भनाई छ ।