हुकिङ हटाउँदा गाउँलेले कुटे विद्युतका कर्मचारी

विद्युत चोरी गरेर सञ्चालन गर्दा बरामद् गरिएका उपकरण । (तस्बिर : उज्यालो अभियान)

बरहथवा– बागमती नदी छेउको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा हुकिङ हटाउन पुगेका नेपाल विद्युत प्राधिकरणको कर्मचारीहरुलाई गाउँले मिलेर कुटपीट गरेका छन् ।

प्राधिकरणको बरहथवा वितरण केन्द्रबाट खटिएको कर्मचारी टोलीमाथि गाउँलेहरु शुक्रवार बिहान आक्रमणमा उत्रिएका हुन् । विद्युत चोरी गर्न लगाइएको हुकिङ हटाई विद्युतीय उपकरणहरु बरामद् गर्ने क्रममा गाउँलेहरुले घेरा हालेर कर्मचारीहरुमाथि आक्रमण गरेका बताइएको छ ।

गाउँले मिलेर गाडीमा ढुंगामुढा गर्न थालेपछि केही कर्मचारी आत्तिदै भागेका र दुई जनालाई प्रहरीले उद्धार गरेर ल्याएको वितरण केन्द्र प्रमुख जयानन्द झाले उज्यालो अभियानसँग बताए । उनका अनुसार प्राधिकरणका एक दर्जन कर्मचारी र पाँच जना प्रहरी हुकिङ नियन्त्रणमा खटिएका बेला गाउँलेहरुबाट आक्रमण भएको हो ।

कर्मचारीमाथि आक्रमणको घटनापछि प्राधिकरणले महिनाथपुर क्षेत्रमा शुक्रवार बिहानैदेखि बत्ती काटेको छ । स्थानीय जनप्रतिनिधि आएर चुहावट नियन्त्रणमा सहयोग गर्ने र आगामी दिनमा कर्मचारीमाथि आक्रमण हुन नदिने सहमति नगरेसम्म बत्ती नछाडिने बरहथवा वितरण केन्द्रले जनाएको छ । दुईवटा ट्रान्सफर्मरबाट बत्ती वितरण हुने बस्तीमा बत्ती काटिएको हो । करिव दुई सय बढी घरधुरी अन्धकारमा परेका छन् ।

वडा कार्यालयमै चोरीको बिजुली
महिनाथपुरको वडा कार्यालयमा समेत विद्युत चोरी गरिएको पाइएको छ । ‘त्यहाँ वडाध्यक्ष समेतले आफ्नो वडा कार्यालयमा हुकिङ लगाएपछि बाँकी स्थानीयले पनि लगाउने भइहाले’, वितरण केन्द्र प्रमुख झाले उज्यालोसँग भने, ‘अब स्थानीय आफैले चुहावट नियन्त्रणको काम गर्ने वा हामीलाई सहज रुपमा गर्न दिने सहमति नहुन्जेल लाईन जोड्दैनौँ ।’ यो बारेमा जिल्लाका सुरक्षा अधिकारी, धनकौलका धनप्रतिनिधि र प्राधिकरणको क्षेत्रीय तथा केन्द्रीय कार्यालयलाई समेत जानकारी गराइएको छ ।

पिछडिएको क्षेत्रमा पर्ने महिनाथपुरमा ५० प्रतिसत भन्दा बढी विद्युत चुहावट हुने गरेको बरहथवा वितरण केन्द्रले जनाएको छ । महिनाथपुरका वडाध्यक्ष चुनचुन यादवले चोरीकै बिजुलीबाट वडा कार्यालय सञ्चालन गरिएको स्वीकार गरेका छन् । ‘अहिलेसम्म हुकिङ लगाएरै बत्ती तानिएको थियो, अब मिटर लिने प्रक्रियामा जान्छौँ’, वडाध्यक्ष यादवले उज्यालो अभियान सँग भने, ‘स्थानीयहरु पनि मिटर जडान गर्ने प्रक्रियामा गइरहेका छन् ।’

बरहथवा वितरण केन्द्रले केही दिनअघिबाट सुरु गरेको हुकिङ हटाउने अभियान अन्तर्गत अहिलेसम्म विभिन्न ठाउँमा हुकिङ हटाउनुका साथै विद्युत चोरी गर्ने २२ जनालाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको छ । त्यसमध्ये ११ जना महिनाथपुरका हुन् । त्यस्तै विद्युत चोरी गरेर सञ्चालित मोटर, पंखा, फ्रिज लगायतका विद्युतीय उपकरण समेत बरामद् गरेको छ ।