पूर्व सांसद् साहले दिए तीनवटा क्लबलाई खेलकुद सामग्री

2
चापिनी युवा क्लबका अध्यक्ष युगल सुवेदी लगायतलाई सामग्री प्रदान गर्दै साह । (तस्बिर : उज्यालो अभियान)

हरिवन – संविधान सभा सदस्य समेत रहेका क्षेत्र नं. ३ मा संघीय सांसद्मा स्वतन्त्र प्रत्यासी नरेन्द्र साहले हरिवन नगरपालिका अन्तर्गत तीनवटा क्लबलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।

साहले आईतबार दिउँसो हरिवन नगरपालिका–८, चापिनी स्थित चापिनी युवा क्लब, वडा नं. ९, दनुवारी स्थित लालिगुराँस क्लब र वडा नं. ११, बाँसाटोल स्थित हरिवन सिटी क्लबलाई फूटबल, जर्सी, ब्याडमिण्टन नेट, र्याकेट, कर्क लगायत सामग्री प्रदान गरेका हुन् । तीनै ठाउँमा पुगेर साहले क्लबका पदाधिकारी एवं स्थानीय युवाहरुको उपस्थितीमा ती सामग्री प्रदान गरेका थिए ।

दनुवारी स्थित ब्रम्हस्थान मन्दिर परिसरमा लालिगुराँसका अध्यक्ष रोशन दाहाल, चापिनीमा चापिनी युवा क्लबका अध्यक्ष युगल सुवेदी, सचिव विनोद कार्की एवं बाँसाटोलमा हरिवन सिटीका अध्यक्ष विनेश कार्की, स्थानीय समाजसेवी सुरेश भट्टराई लगायतको उपस्थितीमा साहले सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रमहरुमा संक्षिप्त बोल्दै साहले तत्काल हरिवनमै रहेको खेलकुद सामग्री प्रदान गरिएको र निकट भविष्यमा थप सामग्रीहरु प्रदान गरिने प्रतिबद्धता जनाए । युवाहरुलाई खेलकुदको माध्यमले अनुशासित जीवन जिउन र समाज बिकासमा लाग्नका लागि आफूले सहयोग गरेको साहको धारणा थियो ।

२०७४ सालको प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेद्वारी दिएर पराजित भएपनि संविधान सभाका सदस्य समेत रहेका साहले क्षेत्र भित्र निरन्तर सहयोग गर्दै आएका छन् । कतै विपन्न परिवारको घर बनाउन त कतै डस्टविन (फोहोर संकलन गर्ने भाँडो) अनि कतै मन्दिर निर्माण त कतै खेलकुद सामग्री प्रदान लगायत समाज सेवाका यावत क्षेत्रमा साहले निरन्तर सहयोग गर्दै आएका छन् ।

निकट भविष्यमै सीसी क्यामेरा समेत जडित १०० थान सोलार बत्तीको पोल वितरण गर्ने साहले जानकारी दिए ।