सर्लाहीको दुई स्थानमा आगलागी, ६ लाख बढीको क्षति

2
प्रतिकात्मक तस्बिर

बरहथवा – सर्लाहीको बेग्लाबेग्लै दुई स्थानमा आगलागी हुँदा ६ लाख बढीको क्षति भएको छ ।

जिल्लाको बरहथवा नगरपालिका–११, दियर टोलका शंकर रायले सञ्चालन गरेको कुटानपिसान मिलमा विद्युत सर्ट भएर आगलागी हुँदा ४ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट धान, गहुँ र मरमसाला पिस्ने मेसिन, मेसिन चलाउने मोटर, कुटान पिसानका लागि राखिएको धान, गहुँ र मसला लगायतका सरसमानमा क्षति भएको हो ।

यस्तै दक्षिणी सीमावर्ती क्षेत्रस्थित विष्णु गाउँपालिका १ बेल्वाका दीपक सिंहले आफ्नै कच्ची घरमा सञ्चालन गरेको खाजा पसलमा आगलागी हुँदा १ लाख ६२ हजार बराबरको क्षति भएको छ । आगलागीबाट खाजा पसल, फ्रिज र अन्य विद्युतीय उपकरण, टेबल, कुर्सी लगायतका सरसामान जलेर नष्ट भएको पीडितले बताएका छन् ।

दुवै स्थानको आगलागी नजिकैको प्रहरी चौकीबाट खटि गएका प्रहरी र गाउँले मिलेर नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।