टोकन लागू गर्दा पनि नागरिकता वितरणमा सकस, मंसिर १६ सम्मको टोकन बाँडियो

4
जिल्ला प्रशासन कार्यालय मलंगवामा नागरिकता बनाउनका लागि लामवद्ध भएर बसेका सेवाग्राही । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीले तीन सातापछि पुनः नागरिकता सम्वन्धी सेवा सूचारु गरेको छ ।

कार्यालयले असोज २५ गतेबाट स्थगित गरेको नयाँ नागरिकता र प्रतिलिपी वितरण सेवा हिजो (सोमवार) बाट सूचारु गरेको हो । प्रमुख जिल्ला अधिकारीसहित छ जना कर्मचारीमा कोरोना संक्रमण पाइएपछि कार्यालयले शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका अन्य सेवा एक साताका लागि बन्द गरेको थियो ।

अन्य सेवा कात्तिक २ गतेबाट सूचारु भएपनि नागरिकता वितरणको काम भने हिजो बाट थालिएको हो । बन्दाबन्दी र निषेधाज्ञापछि नागरिकता फाँटमा अत्यधिक भीड भइरहेका बेला कर्मचारीमा संक्रमण देखिएपछि तीन साता सेवा बन्द हुँदा चाप झनै बढेको छ ।

असोज २५ गते कार्यालय बन्द हुनुअघि कात्तिक २ गतेदेखि २६ गतेसम्मका लागि टोकन बाँडिएको थियो । हिजो कात्तिक २ गतेको टोकन लिएका सेवाग्राहीलाई नागरिकता प्रदान गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए ।

कर्मचारी संक्रमित भएपछि बीचमा कार्यालय बन्द हुँदा टोकन अनुसार सेवा नपाएका सेवाग्राहीहरु अहिले एकै पटक आउन थालेपछि अझ बढी चूनौति र गुनासा थपिएका यादवले बताए । उनले पुरानो टोकनलाई परिमार्जन गरी अर्को गते तोकेर सेवाग्राहीलाई त्यसै मितिमा सेवा लिन आउन भन्दै फर्काइएको बताए ।

टोकनमा उल्लेख गरिएकै दिन सेवाग्राही नआउने, कसैको सर्जिमिन गर्नुपर्ने, अभिलेख ल्याउनु पर्ने लगायतका समस्या पनि रहेको कर्मचारीहरुले बताएका छन् । प्रशासकीय अधिकृत यादवका अनुसार हिजो नै मंसिर ११ गतेदेखि १७ गतेसम्मका लागि टोकन बाँडिसकिएको छ ।

अब नागरिकता लिन चाहाने सेवाग्राही आज (मंगलवार) जाँदा मङ्सिर १८ गतेपछिको टोकन पाउने छन् । यही हिसाबमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नागरिकता लिन सेवाग्राहीले एक महिना भन्दा बढी समय पालो कुर्नुपर्ने भएको छ ।

जिल्लाका २० वटा स्थानीय तहमध्ये एक दर्जन बढी पालिकालाई सेवा दिँदै आइरहेको जिल्ला प्रशासन कार्यालयमा सामान्य अवस्थामा समेत नागरिकता फाँटमा भीडभाड हुने गरेको थियो ।