शंकरपुरमा साँढे ४ लाख लिटर क्षमताको ओभरहेड ट्याङकी शिलान्यास

13
शंकरपुरमा खानेपानी ट्याङकीको शिलान्यास गर्दै मेयर थापा । (तस्बिर : घनश्याम बलम्पाकी/उज्यालो अभियान)

शंकरपुर, कात्तिक १६ – सर्लाहीको बागमतीमा ओभरहेड खानेपानी ट्याङकीको शिलान्यास गरिएको छ ।

आईतवार बागमती नगरपालिका–१० शंकरपुर स्थित पुरानो सोल्टीमा शंकरपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ओभरहेड ट्यांकी शिलन्यास भएको हो । ट्यांकीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले शिलन्यास गरेका संस्थाका अध्यक्ष खड्ग नारायण श्रेष्ठले जानकारी दिए ।

संघिय सरकारको १ करोड ४१ लाख लागतमा निर्माण सम्पन्न हुने ओभरहेड ट्यांकी ४ लाख ५० हजार लिटर क्षमताको हुने खानेपानी संस्थाका सचिव बिर बहादुर खड्काले जानकारी दिए । सचिव खड्काका अनुसार उक्त ट्यांकी एक बर्ष भित्र निर्माण भैसक्ने छ । दुई बर्षको निर्माण अवधी रहेको योजना एक बर्ष भित्र सम्पन्न गरी उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने निर्माण कम्पनी बिडारी निर्माण सेवाले प्रतिबद्ता ब्यक्त गरेको छ ।

खानेपानी ओभरहेड ट्यांकी शिलन्यास कार्यक्रममा बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान, बागमती नगरपालिका वडा नम्बर ८, ९ र १० वडाध्यक्ष लगाएत स्थानीय जनप्रतिनिधि भद्रभलाद्मी लगाएतको उपस्थिीती रहेको संस्थाका सचिव खड्काले बताए । शिलन्यास समारोहमा बोल्दै मेयर थापाले नगरका नागरिकहरुलाई शुद्व पानी खुवाउने सवालमा नगरले कुनै कस्सर बाँकी नराख्ने बताए ।

२०७२ सालमा गठन भएको यस खानेपानी तथा सरसफाई उपभोक्ता समितिले यस क्षेत्रमा शुद्व खानेपानी वितरणको पहल गर्दै आएको छ । उपयुक्त खानेपानीको ब्यवस्था नरहेको बागमती नगरपालिका वडा नम्बर ७, ८, ९, १० र छिमेकी नगरपालिकाको सिमाक्षेत्र मुर्तिया र बरहथवा समेत गरी झण्डै २२ सय घर धुरी यस खानेपानीबाट लाभान्वित हुने समितिले जनाएको छ ।

शुद्व खानेपानीको दिर्घकालिन सुविधा नभएका यस क्षेत्रका नागरिक ईनार र चापाकलको अशुद्व पानीमा निर्भर हुनु पर्ने बाध्यता रहदै आएको थियो । ईनार र चापाकल समेत हिउँदको समयमा सुक्ने समस्याले स्थानीय हैरान हुने गरेका छन् ।