सशस्त्र द्वन्द्वका शहीद कुशवारलाई सम्झदै फुटबल प्रतियोगिता, उदघाटन खेलमा हीरापुर बिजयी

4
अम्पाएरलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गर्दै उपमेयर सीतादेवी माझी । तस्बिर सौजन्य : संचारकर्मी प्रदिप कार्की

हजरिया – सर्लाहीको बरहथवा नगरपालिका–२ हजरियामा आज (शनिवार) बाट दोस्रो शहीद सन्तविर कुशवार गोल्डकप सुरु भएको छ ।

सशस्त्र द्वन्द्वमा शहादत भएका विकास पे्रमी एवं सामाजिक व्यक्तित्व कुशवारको सम्झना तथा सम्मानमा स्थानीय सेभेन स्टार यूथ क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको शनिवार दिउँसो कुशवारकी श्रीमती समेत रहेकी बरहथवा नगरपालिकाकी उपमेयर सीतादेवी माझीले उद्घाटन गरिन् ।

माझीले गाउँका युवाहरुले कुशवारको नामबाट फुटबल खेल आयोजना गरेर उनको बलिदानलाई जीवित राख्ने काम गरेका भन्दै प्रशंसा गरिन् । उनले यस प्रतियोगितालाई बर्सेनि आयोजना गराइराख्न आफूले पनि पहल गर्ने बताईन् ।

क्लबका अध्यक्ष सागर थापाको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा बरहथवा नगरपालिका–२, का वडाध्यक्ष यज्ञबहादुर खड्का, नेपाली काँग्रेसका नेता श्याम कार्की, नेपाल विद्यार्थी संघका नेता रघु कार्की लगायतको उपस्थिति थियो ।

कात्तिक २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १४ वटा क्लबले सहभागिता जनाएका छन् । आयोजना गर्न नगरपालिका, वडा कार्यालय लगायत खेलपे्रमीहरुले समेत सहयोग गरेका प्रतियोगिताको बिजेताले ५५ हजार ५ सय ५५ र उपबिजेताले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने स्थानीयवासी समेत रहेका संचारकर्मी प्रदिप कार्कीले जानकारी दिए ।

प्रतियोगिताको शनिवार भएको उद्घाटन खेलमा बरहथवाकै हीरापुर यूथ क्लब लौकठले आयोजक सेभेन स्टार यूवा क्लब हजरियालाई ३–० गोलले पराजित गरेको छ ।