प्रदेश राजधानी माग्दै सर्लाहीको ईश्वरपुरमा संकल्प यात्रा

12
प्रदेश राजधानी माग्दै प्रदर्शन गरिरहेका ईश्वरपुरबासी । (तस्बिर : कृष्ण/उज्यालो अभियान)

कृष्ण थपलिया/ईश्वरपुर – सर्लाहीको ईश्वरपुरलाई प्रदेश नम्बर दुईको राजधानी कायम गर्न माग गर्दै ईश्वरपुरका नागरिकले संकल्प यात्रा तथा दिप प्रज्वलन कार्यक्रम गरेका छन् ।

प्रदेश दुईको बिच भागमा पर्ने सर्लाही हरेक हिसाबले प्रदेश राजधानीका लागि उपयुक्त रहेकाले राजधानी कायम गर्न माग रखिएको नेकपा सर्लाहीका नेता शुसिल कुमार थपलियाले बताए ।शुक्रबार दिउँसो ईश्वरपुर नगरपालिका कार्यालय अगाडिबाट सुरु भएको संकल्प यात्रा ईलाका प्रहरी कार्यालय अघि पुगी कोणसभामा परिणत भएको थियो ।

प्रदेश नम्बर दुईका ८ वटै जिल्लाको बीच भाग पर्ने र भौतिक संरचना निर्माण गर्न ईश्वरपुर नगरपालिका एवं आसपासका क्षेत्रमा प्रशस्त मात्रामा खाली जमिन रहेकाले सर्लाहीलाई प्रदेश राजधानी बनाउन उपयुक्त हुन ठहर गर्दै अन्तरक्रिया, संकल्प यात्रा र दिप प्रज्वलन कार्यक्रम राखिएको थपलियाले बताए ।

यस अघि पनि सदरमुकाम मलंगवामा मानव अधिकारकर्मी, राजनीतिक दल र सञ्चारकर्मीले छलफल कार्यक्रमको आयोजना गरी सर्लाहीलाई प्रदेश नम्बर दुईको राजधानी बनाउन माग गरेका थिए ।