सशस्त्रको बोर्डर आउट पोष्ट नहटाउन माग

6
भारतीय सिमा क्षेत्रमा गस्ती गरिरहेका सशस्त्र प्रहरी । (फाईल तस्बिर : उज्यालो अभियान)

भाँडसर – सर्लाहीको मलंगवा नगरपालिका–५, भाँडसरमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) नहटाउन अधिकांश स्थानीय बासिन्दाले माग गरेका छन् ।

केही दिनअघि सशस्त्र प्रहरीका एक जवान नग्न अवस्थामा एक स्थानीयको घरमा छिरेको घटनालाई लिएर केही व्यक्ति रुष्ट भई बीओपी नै हटाउनु पर्ने भन्दै आक्रोशित भएका थिए । तर सोमवार गाउँलेहरुलाई राखेर छलफल गर्दा अधिकांशले सीमा सुरक्षाका लागि बीओपी बस्दा ठीक हुने बताएका हुन् ।

तस्करीमा संलग्न हुने व्यक्तिको समूहले भने बीओपी बस्न नहुने बताएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरीले अनुशासन विपरीत अरुको घरमा पस्ने जवानलाई बर्दिवासस्थित बाहिनीमा पठाएर कारवाही अघि बढाईसकिएको जनाएको छ । सर्लाहीका सशस्त्र प्रहरीका प्रमुख (एसपी) गंगाराम श्रेठले भाडसर बीओपीमा सोमवारबाट इन्सपेक्टर समेत पठाइएको जानकारी दिए ।
गोडैता नगरपालिकाको बहादुरपुरमा बस्ने बोर्डर आउट पोष्टमा पनि सोमवारदेखि नै इन्सपेक्टर पठाइएको छ । अहिले विष्णु गाउँपालिकाको बाराउद्योरणमा रहेको बीओपी अब बहादुुरपुरमा सर्नेे छ । भाँडसरमा इन्सपेक्टर श्यामबाबु यादव र बहादुरपुरमा इन्सपेक्टर उमेश आलेलाई पठाइएको हो ।

दुवै ठाउँमा यसअघि सईले कमाण्ड सम्हाल्दै आएका थिए । नेपाल सरकारको मन्त्री परिषद्को बैठकबाटै निर्णय भए बमोजिम भारतसँग सीमा जोडिएको यि दुई ठाउँमा सशस्त्रको बीओपी थपिएको हो ।