योङ्ग स्टारलाई परवानीपुर च्याम्पियन फुटबलको उपाधि

8

परवानीपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६, स्थित दीपेन्द्र स्मृति सामुदायिक वनको खेल मैदान भोर्लेनीमा आयोजित परवानीपुर च्याम्पियन फुटबलको उपाधि परवानीपुर चौककै योङ्ग स्टार युवा क्लबले जितेको छ । मिरमिरे युवा क्लब भोर्लेनीको आयोजना एवं दीपेन्द्र स्मृति सामुदायिक वनको प्रायोजनमा आयोजित प्रतियोगिताको फाइनल खेलमा सोमवार आयोजक मिरमिरेकै बी टिमलाई पराजित गर्दै योङ्ग स्टार च्याम्पियन बनेको हो ।

आयोजकलाई दुईका विरुद्ध चार गोल गर्दै बिजेता भएको योङ्ग स्टारले नगद १० हजारसँगै शिल्ड र प्रमाण पत्र प्राप्त गर्यो । दोस्रो भएको आयोजकले ५ हजार नगद, दोस्रो शिल्ड र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता क्लबलाई लालबन्दी नगरपालिका–१६, का वडाध्यक्ष गणेश बहादुर थापाको प्रमुख आतिथ्यता, वडा नं.१५ का वडाध्यक्ष गोरखबहादुर थापाको विशिष्ठ आतिथ्यता र जिल्ला फुटबल संघका सदस्य सन्चर सुनुवारको आतिथ्यतामा पुरस्कार वितरण गरिएको स्थानीय पद्म श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा मिरमिरेका खेलाडी विकास श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी र योङ्ग स्टारका गोलकिपर अजित विक सर्वोत्कृष्ट गोलरक्षक घोषणा भएका छन् ।

यता ईश्वरपुर नगरपालिका–८, रामपुरमा जारी प्रथम रवी स्मृति फुटबल प्रतियोगितामा सोमवार भएका खेलमा सागरनाथ युवा क्लब सागरनाथ र जनशक्ति युवा क्लब ढल्के बिजयी भएका छन् ।पहिलो खेलमा सागरनाथले शिवशक्ति युवा क्लब लक्ष्मीपुरलाई ४–० र दोस्रो खेलमा ढल्केले नवज्योति युवा क्लब लालबन्दीलाई २–१ गोल अन्तरले पराजित गरेका हुन् ।

उता हरिपूर्वा नगरपालिका–५, स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयको प्राङगणमा हरिपूर्वा युवा क्रिकेट क्लबले सोमवारबाट क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताको सामेबार आयोजक क्लबका अध्यक्ष खगेन्द्र प्रसाद यादवको अध्यक्षता एवं हरिपूर्वा नगरपालिकाका मेयर शियाराम रायले उद्घाटन गरे । सोमवार भएको उद्घाटन खेलमा ईश्वरपुर नगरपालिकाको पोखरीयाले महोत्तरीको सोनमालाई ९७ रनले पराजित गरेको आयोजक क्लबका सदस्य नितेश चौधरीले जानकारी दिए ।