धूलाम्मे सडकमा कष्टपूर्ण यात्रा, मलंगवा आइपुग्दा बिरामी पर्ने अवस्था

3
सर्लाहीको हरिपूर्वाहुँदै सदरमुकाम मलंगवासम्म पुग्ने धूलाम्मे हुलाकी सडक । (तस्बिर : जनार्जन खत्री/उज्यालो अभियान)

मलंगवा – चाडपर्वकै समयमा सर्लाहीका अधिकांश ग्रामीण सडक धूलाम्मे हुँदा यात्रुले सास्ती पाएका छन् ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेका जिल्लाका भित्री ग्रामीण सडकहरु आवतजावत गर्नै मुस्किल पर्ने गरी धूलाम्मे भएका हुन् । जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक, चन्द्रनगर, ब्रम्हपुरी हुँदै सदरमुकाम मलंगवासम्म पुग्ने सडक र हरिपूर्वाबाट पर्सा गाउँपालिका हुँदै सदरमुकाम मलंगवासँग जोडिएको सडक अत्यधिक जीर्ण भई धूलाम्मे अवस्थामा रहेका छन् ।

चर्को घाममा ठूल्ठूला खाल्डाखुल्डी र कुहिरीमण्डल भई धूलो उड्ने हुलाकी सडक भएर सदरमुकाम मलंगवा पुग्दा बिरामी नै पर्ने अवस्था रहेको पर्सा गाउँपालिका–१, शीतलपुरका वडाध्यक्ष सुरेन्द्र कुमार रायले जानकारी दिए । अहिले धूलाम्मे भएका सडक सानो पानी पर्ने बित्तिकै हिलाम्मे भई पोखरीमा परिणत हुने गरेका छन् ।

अत्यधिक खाल्डाखुल्डी र धूलाम्मे अवस्थामा रहेका ग्रामीण सडकका कारण यात्रुलाई हैरानी हुनुका साथै दुर्घटना पनि बढ्न थालेका छन् । विशेष गरी साँझको समयमा सवारी साधनको बढी आवागमन हुने भएकाले ग्रामीण सडकहरुमा दुर्घटना बढेको सर्लाही प्रहरीले जनाएको छ ।

सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साहले जिल्लाको दक्षिण–पूर्वी र दक्षिण–पश्चिम भेगका नागरिकले ग्रामीण सडक अत्यन्त खराब हुँदा सदरमुकामसम्म आउजाउ गर्न समस्या भइरहेको गुनासो गरिरहेका बताए । नगरपालिका मातहतका सडक मर्मत सम्भार र निर्माणको काम चलिरहेको भएपनि केन्द्र सरकारले लगानी गरिरहेको हुलाकी सडकमा आफूहरुले केही गर्न नसक्ने मेयर साहको भनाई छ ।