दशैंपछि सर्लाहीमा आन्दोलनको आँधीबेरी ल्याउने कांग्रेस नेताहरुको चेतावनी

28
पत्रकार सम्मेलनमा उपस्थित बायाँबाट क्रमशः जिल्ला उपसभापति सिंह, प्रदेश सांसद् कुशवाहा, संघीय सांसद् सिंह र प्रदेश सांसद् सिंह । (तस्बिर : उज्यालो अभियान)

धनकौल – नेपाली कांग्रेस सर्लाहीका नेताहरुले दशैंपछि सर्लाहीमा आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन् ।

आज (आईतबार) धनकौल स्थित प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहको निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्रप्रसाद सिंह, संघीय सांसद् डा. अमरेशकुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्रप्रसाद कुशवाहा र वीरेन्द्रप्रसाद सिंह लगायत नेताहरुले दशैं लगतै आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका हुन् । धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय, बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या यादव, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णकुमार बर्मा एवं कांग्रेसका जिल्लास्तरीय विभिन्न नेताहरुको समेत उपस्थिती रहेको पत्रकार सम्मेलनमा बोल्दै सांसद्हरुले आफूहरुमाथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले दुव्र्यबहार समेत गरेको आरोप लगाए ।

‘जनताबाट निर्वाचित हाँमी जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष सिंह राठौर तथा डीएसपी उद्यव सिंह भाटबाट भौतिक रुपमै र फोनबाट समेत दुव्र्यबहार भएको छ’, चार नं. क्षेत्रबाट निर्वाचित संघीय सांसद् डा. सिंहले भने, ‘पीडित जनतालाई न्याय देउ भनेर आवाज उठाउँदा जनप्रतिनिधि माथि दुव्र्यबहार गरेर नेपाल पुलिसका अधिकारीहरुले नेकपा पुलिसको व्यबहार देखाएका छन्, अब हाँमी पनि छाड्नेवाला छैनौं, दशैंपछि आन्दोलनको आँधीबेरी ल्याउने छौं ।’ एसपी राठौरले फोन गरेर आफूमाथि अत्यन्त नीच स्तरको गालीगलौज गरेकाले कानूनी कारबाहीका लागि समेत तयारी गरिरहेको संघीय सांसद् सिंहले जानकारी दिए ।

हिन्दुहरुको महान चाड दशैंका कारण हाललाई आन्दोलन स्थगीत गरिएको र कोजाग्रत पूर्णीमा लगतै चरणबद्ध रुपमा आन्दोलनको आँधीबेरी ल्याउने जिल्ला उपसभापति सिंहले चेतावनी दिए । आन्दोलनका कारण हुने सबैखाले अपृय घटनाको जिम्मेवार स्थानीय प्रहरी प्रशासन नै रहने समेत उपसभापति सिंहको भनाई थियो ।

कुटपिटबाट गम्भिर घाईते भई वीरगंजमा उपचार गर्दागर्दै असोज २२ गते मृत्यु भएका रामनगर गाउँपालिका–७, सिसौटका ६५ वर्षीय महेन्द्र राममाथि कुटपिट गर्ने हरुलाई कानूनी दायरामा ल्याउन माग गर्दा स्थानीय प्रहरी प्रशासनले वेवास्ता गरेको कांग्रेस नेताहरुले बताएका छन् । राममाथि कुटपिट गर्नेहरु विरुद्ध किटानी जाहेरी दिन खोज्दा सत्ताधारी दलका नेताहरुको ईसारामा प्रहरीले जाहेरी लिनै नमानेको र त्यसको विरोध प्रदर्शन गर्दा उल्टै बल प्रयोग गरेर मृतकका भाई, श्रीमति एवं आधा दर्जन महिला सहित दुई दर्जन नेता कार्यकर्तालाई घाईते बनाएको प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहले बताए ।

२२ गते मृत्यु भएका रामको शव अहिलेपनि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमै रहको छ । आफन्तले घर ल्याउँदै गर्दा प्रहरीले शव समेत खोसेर लगेको कांग्रेस नेता एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए ।

सत्ताधारी नेकपा सम्बद्ध नेता कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको दाबी गर्दै कांग्रेसले मृतक रामलाई सहिद घोषणा, उचित क्षतिपूर्ति तथा पीडित परिवारले दिएको किटानी जाहेरी दर्ता गरी कुटपिटमा संलग्न सबैलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । माग पूरा नभएसम्म केन्द्रीय स्तरका नेताहरुलाई समेत उतारेर जिल्लाभर आन्दोलनमा उत्रने र त्यतिगर्दा पनि सुनुवाई नभए प्रदेश हुँदै देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरिने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् ।

सत्ताधारी नेकपाका नेताहरुको दबाबमा कांग्रेसबाट निर्वाचित रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो सहित कांग्रेसका धेरै नेता कार्यकतालाई घटनामा संलग्नै नभएपनि विभिन्न मुद्धा दर्ता गरेर प्रहरीले फसाएको तर अहिले रामको घटनामा संलग्नहरुकै नाम सहित किटानी जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको संघीय सांसद्र सिंहले आरोप लगाए । घटनाका दोषि उम्कन नहुने र निर्दोष फस्न नहुने आफूहरुको पनि मान्यता रहेको उल्लेख गर्दै कांग्रेस नेताहरुले मृतकका परिवारले भनेको बाहेक आफूहरुले कसैको नाम पनि किटानी जाहेरीमा जबर्जस्ती थप्न नभनेको दाबी गरेका छन् । ११ दिनदेखि मृतक रामको शव वीरगंजमै रहँदा पनि स्थानीय प्रहरी प्रशासनका अधिकारीहरुले पीडित परिवारलाई न्याय दिलाउने र समस्या समाधानमा प्रयास गर्नुको सट्टा न्याय माग्नेहरुमाथि बल प्रयोग गर्ने, डर त्रास तथा धम्कि सहित गालीगलौज गर्ने गरेकाले रहरले नभई बाध्य भएर आन्दोलनमा उत्रनु परेको कांग्रेस नेताहरुको भनाई छ ।

गत बुधबार नेपाली कांग्रेस सर्लाहीको आयोजनामा जिल्ला प्रहरी कार्यालय मलंगवा घेराउ गर्ने क्रममा झडप हुँदा नेपाल प्रहरीका दुईजना डिएसपी सहित २२ तथा सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी सामान्य घाईते भएका थिए । त्यस्तै प्रहरीले प्रहार गरेको लाठी र अश्रुग्याँसबाट आफ्ना दुईदर्जन नेता कार्यकर्ता घाईते भएको कांग्रेसले जनाएको छ । प्रहरीको लाठी प्रहारबाट दुई महिलाको हात तथा एक महिलाको खुट्टा समेत भाँच्चिएको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार अन्य डेढ दर्जन नेता कार्यकर्ताहरुको टाउको, हात लगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।

त्यस्तै बलरा नगरपालिका–२, हथियौल निवासी २० वर्षीय रोहितकुमार सिंहको पनि हत्या भएको उल्लेख गर्दै नयाँ एसपी आएसँगै जिल्लामा हत्या हिंसाका घटना बढेको कांग्रेसले आरोप लगाएको छ । एकसातादेखि हराएका सिंहको शव बागमती किनार नजिकै धानखेतमा दुई दिनअघि फेला परेको थियो ।

यता सत्ताधारी नेकपाले भने कांग्रेसले घटनालाई राजनैतिक रंग दिएर जिल्ला प्रहरी कार्यालय घेराउ लगायत हुलहुज्जत गर्दै प्रहरी प्रशासनलाई निश्पक्ष छानविन गर्न नदिएको आरोप लगाउँदै आएको छ । नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले केही दिनअघि विज्ञप्ति नै प्रकाशित गरेर त्यस्तो आरोप लगाएका हुन् ।