सर्लाहीको सीडीओ कार्यालय आजबाट एक हप्तालाई बन्द

4
सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको जिल्ला प्रशासन कार्यालय मलंगवा आज (आइतवार) बाट एक हप्ता बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीसहित ५ जना कर्मचारीमा हिजो एकै पटक कोरोना संक्रमण पुष्टी भएपछि आजबाट आगामी सुक्रवारसम्मका लागि कार्यालय बन्द गरिएको हो । संक्रमित सबै सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।

सीडीओ कार्यालयका एक जना नायब सुब्बामा गत वुधवारनै कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि कार्यालयका सबै कर्मचारीसहित सुरक्षाकर्मी र थुनुवाहरुको थ्रोट स्वाब निकालेर परीक्षण गर्दा हिजो १० जनाको पोजिटिभ रिपोर्ट आएको हो । १० मध्ये ५ जना जिल्ला प्रहरी कार्यालयका थुनुवा छन् ।

आजदेखि आगामी सुक्रवारसम्म शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका कार्यालयबाट प्रदान हुने अन्य सेवाहरु बन्द गरिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए । लामो बन्दाबन्दी र निषेधाज्ञापछि ठीक एक महिना अघि भदौ २३ गतेदेखि नियमित सेवा प्रवाह गर्न थालेको जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने लगायत अन्य प्रयोजनका लागि सेवाग्राहीको अत्यधिक भीड लाग्दै आएको थियो ।

नागरिकता वितरणमा टोकन प्रणाली अपनाइए पनि चाप थेग्न हम्मेहम्मे पर्दै आएको थियो । आजबाट पुनः एक हप्ता कार्यालय बन्द भएपछि सेवाग्राहीहरु भने मारमा परेका छन् ।