सुखेपोखरी क्याम्पसचोकको सडकमा राखियो ‘क्याट आई लाईट’

1
लाईट जडानको सूरुवात गर्दै मेयर प्रसाईं, ट्राफिक प्रहरी निरीक्षक दोङ, वडाध्यक्ष मैनाली लगायत । (तस्बिर : उज्यालो अभियान)

सुखेपोखरी – हरिवन नगरपालिका वडा नम्बर १० सुखेपोखरी स्थित कालोपत्रे सडकमा ‘क्याट आई लाईट’ जडान गरिएको छ ।

शनिबार बिहान हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक केदारमान दोङ, वडाध्यक्ष शम्भुप्रसाद मैनाली लगायतले बती जडान कार्यको सूरुवात गरेका थिए । वडा कार्यालयको बजेटबाट क्याम्पस चोक स्थित कालोपत्रे गरिएको सडकमा १४० थान लाईट राखिएको वडाध्यक्ष मैनालीले जानकारी दिए । २०० थान लाईट खरिद गरिएकोमा क्याम्पस चोकदेखि पश्चिम जाने ४७५ मिटर सडकको दुवै किनारामा १४० थान लाईट राखिएको र बाँकी लाईट अर्को सडकमा जडान गरिने वडाध्यक्ष मैनालीको भनाई छ ।

साँझ परेपछि आफै बल्ने रेडियमयुक्त उक्त लाईटले सौन्दर्यता बढाउनुका साथै दुर्घटना न्यूनिकरणमा समेत टेवा पुर्याउने हुनाले जडान गरिएको हो । राजधानी काठमाडौं, पोखरा लगायत ठूला शहरहरुका कालोपत्रेमा त्यस्तो लाईट जडान गरिएको छ । सवारी साधनको लाईट परेपछि अझ बढी चम्कने उक्त लाईटले सडकको किनार समेत संकेत गर्ने हुनाले चालकलाई राती सवारी साधन चलान निकै सहज हुने बताईएको छ ।

२०–२० फिटको दुरीमा उक्त लाईट राखिएको वडाध्यक्ष मैनालीले बताए । मैनालीका अनुसार हालसम्म १० नम्बर वडा भित्र ३ किलोमिटर सडक कालोपत्रे भईसकेको र सबै कालोपत्रेमा यस्तो लाईट जडान गर्ने योजना रहेको छ ।