मुख्य नाका बन्द भएपनि अन्य नाकाबाट भारततर्फ निर्वाध रुपमा बाक्लो आवतजावत

4
सोमवार सदरमुकाम मलंगवास्थित नेपाल–भारत सीमा नजिक भन्सार कार्यालय अगाडि भारतबाट विभिन्न सामग्री लिएर आएका ट्रकहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको दक्षिणी भेगका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् ।

मुख्य सीमा नाकाहरु बन्द रहेपनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको हो । स्थानीय स्तरमा बजार नरहेकाले सीमावर्ती क्षेत्रका वासिन्दा जे चाहिए पनि सीमापारी भारतीय बजार नै जानु पर्ने बाध्यता रहेको छ । दक्षिणी भेगका धेरैजसो पालिकामा ठूलाखाले बजार नै छैनन् ।

मुख्य नाकाहरुमा सुरक्षाकर्मी ढाट तेर्साएर बसेका भएपनि खेतबारीको आली र खोला खोल्सा भएर दैनिक सयौँ मानिसहरु किनमेलका लागि भारतीय बजार पुग्ने गरेका बलरा नगरपालिकाका प्रमुख अभय कुमार सिंहले जानकारी दिए । सीमावर्ती गाउँका वासिन्दालाई नुन तेल किन्नदेखि औषधोपचार गर्न भारतीय बजार नै नजिक पर्छ । नगर प्रमुख सिंहले अन्त सबैतिर ओहोरदोहोर भइरहँदा मुख्य नाका मात्रै बन्द गरिँदा बिरामी परेर झट्ट सीमापारी जानु पर्नेहरु अप्ठेरोमा परिरहेका बताए ।

बलरासँगै जिल्लाको दक्षिणी भेगमा पर्ने गोडैता, विष्णु, रामनगर, कौडेना, मलंगवा, ब्रम्ह्मपुरी, पर्सा, हरिपूर्वा लगायतका पालिकाबाट दैनिक सयौँको सङ्ख्यामा स्थानीयहरु किनमेलका लागि भारतीय बजार पुग्ने गर्छन् । स्थानीयहरु सदरमुकाम मलंगवा र जिल्लाका अन्य बजार भन्दा सीमापारीको बजार पायक पर्ने बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले वर्षौदेखिको रीति रोकेर वारीपारी हुने आवागमन ठप्प नै पार्न नसकिने बताए । उनले व्यवहारिक समस्या हेरेर काजकिरिया, औषधोपचार जस्ता कार्यका लागि आवतजावत गर्न दिएको भएपनि सरकारले निर्णय नगरेसम्म सीमा नाका नै खुल्ला गर्न नसकिने बताए । प्रजिअ पौडेलका अनुसार भारतबाट मुख्य नाका हुँदै विभिन्न मालसमान भने दैनिक रुपमा आयात भइ नै रहेको छ ।