उखुको अनुदान रकम तत्काल भूक्तानि गर्न किसानको माग

6
चिनी उद्योगमा लैजानका लागि उखु काट्दै किसान । (फाईल तस्बिर)

मलंगवा – सरकारले पठाएको अनुदान रकम दशैं अघि नै भूक्तानि गर्न सर्लाहीका उखु किसानले माग गरेका छन् ।

गत वर्ष जिल्लाका उखु किसानले पाउनु पर्ने सरकारी अनुदानको रकम केही दिनअघि कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवामा आइसकेको छ । सर्लाहीका उखु किसानका लागि २१ करोड ३४ लाख ९५ हजार रुपैंया निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार २.५ प्रतिशत अर्थात ४४ लाख ४३ हजार ६५ रुपैंया कम बजेट निकासा आएको छ ।

यहाँबाट सर्भे भएअनुसार सर्लाहीका उखु किसानका लागि २१ करोड ७९ लाख ३८ हजार ६५ रुपैंया निकासा हुनुपर्ने थियो । अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भूक्तानि गर्न माग गर्दै सोमवार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

जिल्लाका चिनी मिलमा छिमेकी जिल्लाका उखु किसानले पनि उखु बिक्री गरेकाले अहिले आइसकेको रकम यहाँका किसानलाई वितरण गर्न र बाँकी किसानलाई थप रकम निकासा भएपछि वितरण गर्न आग्रह गरिएको मैनालीले बताए । दशैंमा किनमेल गर्नुपर्ने भएकाले किसानलाई तत्कालै अनुदान रकम खातामा पठाईदिन आग्रह गर्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, उखु उत्पादक महासंघका अध्यक्ष मैनाली, अगुवा उखु किसान राजकुमार उप्रेती लगायत सोमवार सदरमुकाम मलंगवा पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आज (मंगलवार) दिउँसो भुक्तानि समितिको बैठक बसेर यसबारेमा निर्णय लिईने बताए । कोलेनिका प्रमुख थपलियाका अनुसार अघिल्लो वर्षहरुमा चिनी उद्योगलाई निकासा गर्ने र उद्योगले किसानको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएपनि यसवर्ष भने कोलेनिकाले सोझै किसानको बैंक खातामा रकम हाल्ने व्यवस्था रहेको छ ।