सीडीओ कार्यालयले असोज महिनाको टोकन बाँड्यो

जिल्ला प्रशासन कार्यालय मलंगवामा नागरिकता बनाउनका लागि लामवद्ध भएर बसेका सेवाग्राही । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा नागरिकता लिनेहरुको चाप अझै घटेको छैन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवा तथा हरिवन र बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयमा नागरिकता बनाउनेको चाप उस्तै छ । भीड कम गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली नै अपनाएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत राम प्रमोद यादवले नयाँ नागरिकताका लागि असोज ३० गतेसम्म अर्थात यो महिना भरीकै लागि र प्रतिलिपीका लागि २३ गतेसम्मको टोकन बाँडि सकिएको जानकारी दिए ।

नागरिकता बनाउने चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा नागरिकता लिन आउने गरी सेवाग्राहीहरुलाई घर पठाउने गरिएको छ । धेरैवटा पालिका हेनुपर्ने भएकाले हरिवन र बरहथवाका ईलाका स्तरीय कार्यालयलाई भन्दा जिल्ला प्रशासन कार्यालय मलंगवामा बढी चाप रहेको अधिकृत यादवले बताए ।

उनले नागरिकता बाहेक अन्य सेवाहरु पहिलेकै प्रक्रियामा प्रवाह भइरहेको जानकारी दिएका छन् । सीडीओ कार्यालयले हरिपुर र ईश्वरपुरका केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाका पूरै नागरिकलाई सेवा प्रवाह गर्दै आएको छ । हरिवन र बरहथवाले बाँकी ६ वटा पालिका हेर्छन् ।
जिल्ला प्रशासनबाट अहिले दैनिक १२० वटाको हाराहारीमा र बरहथवा र हरिवनको ईलाका प्रशासन कार्यालयले क्रमश: दिनको ५५/६० तथा ४५/५० वटा नागरिकता वितरण गरिरहेका छन् ।

ईलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश रायले लकडाउन र निषेधाज्ञाले ५ महिना बढी खप्टिएको काम अहिले आएर एकैपटक गर्नुपर्दा अत्यधिक चाप रहेको बताए । केही सातादेखि हरिवनका प्रमुख नहुँदा हरिवनबाट वितरण हुने नागरिकताहरुमा पनि रायबाटै हस्ताक्षर गराएर ल्याउने गरिएको छ ।