कोरोना कहर : बजार ठेक्का नलाग्दा पालिकाहरुको करोडौँ आम्दानी गुम्दै

1
नवलपुरस्थित गोरु बजार । (फाइल तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीका प्रमुख हाटबजारहरु यो वर्ष मध्य असोज भइसक्दा समेत ठेक्का लाग्न सकेको छैन् ।

स्थानीय तहहरुले पटक–पटक सूचना प्रकाशित गरी टेण्डर आह्वान गरेपनि बजारहरु ठेक्का लागेको छैन । धेरै आम्दानी हुने जिल्लाको बयलवास, नवलपुर र बरहथवाको गोरु बजार नै ठेक्का लाग्न बाँकी छ । बरहथवास्थित गोरु बजार ठेक्का आह्वान गर्दै नगरपालिकाले चौँथो पटक सूचना प्रकाशित गरेको छ । तीन पटकसम्म सूचना प्रकाशित गर्दा एउटा पनि टेण्डर नपरेको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले जानकारी दिए । अघिल्लो वर्ष चैतदेखि लकडाउन सुरु भएपछि बजार बन्द भएकाले पोहोरकै ठेकेदारले क्षतिपूर्ति माग गरिरहेका भुजेलको भनाई छ । बरहथवा नगरपालिकाले गत वर्ष विभिन्न बजार ठेक्का लगाएर ९५ लाख रुपैयाँको हाराहारीमा आम्दानी गरेको थियो । यो वर्ष स–साना हाटबजार बाहेक आन्तरिक आम्दानीको मुख्य स्रोत गोरु बजार नै ठेक्का लाग्न नसकेको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए ।

पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिकामा पनि नवलपुर गोरु बजार ठेक्का लाग्न सकेको छैन् । नगरपालिकाले गत वर्षको भन्दा मूल्य घटाएर तेस्रो पटक ४५ लाखमै टेण्डर आह्वान गरिसकेको छ । नवलपुर गोरु बजार गत वर्ष एक करोड तीन लाख रुपैयाँमा ठेक्का लागेको थियो । तरकारी बजार भने ४५ लाख रुपैयाँमा ठेक्का लागिसकेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गमै पर्ने हरिवन सहितका खसी बाख्रा बजार पनि ठेक्का लाग्न सकेका छन् । ठेक्का लगाउन पालिकाहरुले पटक–पटक सूचना भने प्रकाशित गरिरहेका छन् ।

यसैगरी गएको वर्ष बजार ठेक्काबाट ५० लाख बढी आम्दानी गरेको ईश्वरपुर नगरपालिकाले पनि जिल्लाकै पुरानो मानिने बयलवासस्थित गोरु बजार ठेक्का लगाउन सकेको छैन् । कोरोना संक्रमणले गर्दा आगामी दिनमा बजार लाग्ने/नलाग्ने अनिश्चित रहेकाले टेण्डर नपरेको हुनसक्ने ईश्वरपुरका नगरप्रमुख मनोज कुमार देवकोटाले बताए ।

बजारहरु ठेक्का नलाग्दा पालिकाहरुको आन्तरिक आम्दानीमा ठूलो गिरावट आउने देखिएको छ । ठेक्का लागेका सानाखाले बजार पनि मुस्किलले पोहोरको भन्दा कम मूल्यमा ठेक्का लगाइएको सर्लाहीका गाउँपालिका तथा नगरपालिकाहरुले जनाएका छन् ।