‘महिला हिंसा रोक्न एकजुट हौँ’

6

लालबन्दी – समाजमा बढ्दो महिला हिंसा न्यूनिकरण गर्न सबै पक्षबीच हातेमालो हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

मेची महाकाली बुहारी संयुक्त आवाज जिल्ला कार्यसमिति सर्लाहीले शनिबार लालबन्दी नगरपालिकाको सभा हलमा आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले कुनै एउटा पक्षमात्रै लागिपरेर महिला हिंसा नरोकिने बताएका हुन् । जनप्रतिनिधि, प्रहरी प्रशासन, अधिकारकर्मी सबै लाग्ने हो भने र वास्तविक पीडितलाई न्याय दिलाउन कडासँग कानुनको कार्यान्वयन भए स्वतः महिला हिंसाका घटनामा कमी आउने तर्क गरेका छन् ।

समितिकी जिल्ला अध्यक्ष रमा दाहालको अध्यक्षता एवं प्रदेश सभा सांसद् बेची लुंगेलीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापा, वडा नं. ७ का वडाध्यक्ष सुरेन्द्र न्यौपाने, महिला अधिकारकर्मीहरु करुणा अधिकारी, अन्जु ढकाल, लक्ष्मी गोले प्रधान, धम्का धिताल लगायतको उपस्थिति थियो ।