बर्दिबासमा १० हजार स्मार्ट लाईसेन्स आयो

19
स्मार्ट लाईसेन्सहरु अगाडी राखेर सम्बन्धित आवेदनकर्तालाई एक–एक गरी फोन गर्दै यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासका कर्मचारी । (तस्बिर : उज्यालो अभियान)

हरिवन – यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासमा सवारी चालक अनुमति पत्र (स्मार्ट लाईसेन्स) आएको छ ।

नयाँ सवारी चालक अनुमति पत्रका लागि उत्तीर्ण भएकाहरुको सहित नविकरण र प्रतिलिपीका लागि आवेदन दिएकाहरुको स्मार्ट लाईसेन्स आएको यातायात सेवा कार्यालय बर्दीबासका सूचना अधिकारी दिलिप थापाले जानकारी दिए । थापाका अनुसार गतवर्षदेखिकै लाईसेन्सहरु आएको र हाल धमाधम सम्बन्धित आवेदनकर्तालाई फोन गर्ने काम भईरहेको छ ।

‘अघिल्लो वर्षकै वितरण हुन बाँकी तीनहजार र गत साउनसम्मको सातहजार थान लाईसेन्स आईपुगेको छ’, थापाले भने, ‘अहिले धमाधम सम्बन्धित आवेदनकर्तालाई लाईसेन्स लिन आउन भन्दै फोन गरिरहेका छौं ।’ एकादुई आवेदनकर्ताको भने कार्डमा ईरर आएकाले सबै आवेदनकर्ताले कार्यालयमा आउँदा एकपटक फोन गरेर मात्र आउन समेत थापाले आग्रह गरेका छन् ।

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालय मार्फत हाल ‘चिप्स’ जडित स्मार्ट लाईसेन्स वितरण गरिरहेको छ । बर्दिबास स्थित यातायात कार्यालयबाट सर्लाही सहित सिन्धुली, रामेछाप र दोलखा जिल्लाका सेवाग्राहीहरुको बिलबुक नविकरण, सवारी चालक अनुमति पत्र, बाटो ईजाजत, सवारी जाँचपास, पटके, वर्कशप दर्ता, पंजिकरण र बाटो तथा सवारी अनुगमन कार्य हुन्छ ।