मुसहर समुदायको समग्र उत्थान अभियान अझ सशक्त बन्दै, अभियानका संयोजक तोकिए

2
अभियानका लागि तोकिएका राष्ट्रिय, प्रदेश र जिल्ला संयोजकहरु ।

चन्द्रनगर – पुस्तौ देखि चरम गरिबी, रोग, भोक, शोक, अन्याय, अभाव, अत्याचार र अमानवीय जीवन जिउन बाध्य मुसहर समुदायको समग्र उत्थानको लागि भन्दै सन् २००९ देखि शक्तिहिनको सशक्तिकरण अभियान संचालन गरि रहेको भोर नामक गैर सरकारी संस्थाले यस अभियानलाई अझ बढी सशक्त र प्रभावकारी बनाउन प्रदेश तथा जिल्ला संयोजक तय गरेको जनाएको छ ।

भोरका वर्तमान अध्यक्ष पचुलाल माझी मुसहरको संयोजकत्वमा सन् २००९ देखि अहिले सम्म यो अभियान संचालन भई रहेको थियो । केही महिना अगाडी पचुलाल माझी मुसहर भोरको अध्यक्ष भए पश्चात ‘शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियान’को नेतृत्व हस्तान्तरण गर्दै अभियानलाई अझ सशक्त र प्रभावकारी बनाउन राष्ट्रिय, प्रदेश तथा जिल्ला संयोजकहरु तोकिएको भोरले जनायो ।

भोरका संस्थापक अध्यक्ष राजकुमार महतोका अनुसार जसको सवाल उसको नेतृत्व सिद्धान्तमा विस्वास गर्ने भोरले शुरु देखिनै मुसहर समुदायको युवा तथा अगुवाहरुको क्षमता अभिवृद्धि तथा सुदृढिकरण गर्दै कार्यक्रमहरु मार्फत नेतृत्व सबलीकरण गर्दै आएको छ । भोरको नेतृत्वमा संचालन भई रहेको अन्य सबै अभियान जस्तै यस अभियानको मानव संसाधन स्वंय सेवा एवम सामाजिक परोपकारको सिद्धान्त अनुसार नै परिचालन भई रहेको अर्को महत्वपूर्ण पक्ष भएको संस्थाको दाबी छ । संस्थाका अनुसार यस अभियानका तोकिएको राष्ट्रिय, प्रदेश र जिल्ला संयोजकहरु स्वंयसेवकको रुपमा निःशुल्क रुपमा कार्य गर्छन ।

शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियानलाई अझै सशक्त तथा प्रभावकारी बनाउन राष्ट्रिय, प्रदेश र जिल्ला संयोजकहरु तोकिएको संस्थाले जनाएको छ ।
जसअनुसार अनुप माझी राष्ट्रिय संयोजक, राज कुमार सदा सुचना प्रविधी प्राविधिक संयोजकमा चयन भएका छन् । त्यस्तै प्रदेश १ मा सुदेशी रिषिदेव र भावना रिषिदेव, प्रदेश २ मा धनिर सदा र सलिता सदा, बागमती प्रदेशमा सुन्दर सदा संयोजक तोकिएका छन् ।
त्यस्तै सनोज माझी पर्सा, अस्मिता कुमारी माझी बारा, नथुनी माझी रौतहट, महेश माझी सर्लाही, रामबेचन सदा महोत्तरी, विजय सदा र अजय सदा धनुषा, सुनिल सदा सिराहा, जयकान्त रिषिदेव र प्रविण सदा सप्तरी, सुरज सदा र रामचन्द्र रिषिदेव सुनसरी, उषा रिषिदेव मोरङ, रेखा रिषिदेव झापा, बनहु सदा उदयपुर तथा हरिलाल मुसहर सिन्धुली जिल्ला संयोजक तोकिएका छन् ।

शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियान अन्तर्गत गरिने कार्यहरु राष्ट्रिय, प्रदेश र जिल्ला संयोजकहरुकै सहजीकरण तथा संयोजनमा अगाडी बढाइने संस्थाले जनाएको छ । नव नियुक्त संयोजकहरुको अभिमुखिकरण तथा योजना निर्माणको लागि भर्चुअल बैठक असोज महिना भित्र संचालन गरिने र सो बैठक पछि यस अभियानको अगामी तीन वर्षको कार्य योजनाको अन्तिम रुप दिई सार्वजनीक गरेर कार्यान्वयनमा गईने भोरका अध्यक्ष पचुलाल माझीले बताए ।