चेम्बरलाई लाखौंको जग्गा दान दिएका पोते सम्मानित

1
जग्गादाता दिनेशओम पोते (ढाकाटोपी लगाएका)लाई दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गर्दै मेयर प्रसाईं लगायत । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाल चेम्बर अफ कमर्स हरिवन शाखालाई लाखौं मूल्य पर्ने जग्गा दान गरेका दिनेशओम पोते सम्मानित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्स हरिवनले हरिवन बजार स्थित पोतेकै घर अगाडी आज (शुक्रबार) बिहान एक कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले पोतेलाई दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान गरेका हुन् । पोतेले हरिवन नगरपालिका–११, बाँसाटोल स्थित ७ धुर जग्गा नेपाल चेम्बर अफ कमर्स हरिवनलाई केही दिनअघि रजिष्ट्रेसन पास गरेर दिएका थिए । चलन चल्तीको मूल्य अनुसार उक्त जग्गा हाल तीन लाखको धुरले बिक्री भईरहेकाले पोतेले २१ लाख बराबरको जग्गा दान गरेका छन् ।

कार्यक्रममा कमर्सका शाखाहरु स्थापना एवं विभिन्न गतिबिधीमा सहयोग गरेको भन्दै लालबन्दीका विक्रम भण्डारी, बलराम पोखरेल, ध्रुव गौतम, नवराज मिश्र, हरिवनका रामप्रसाद घिमिरे, उत्तरकुमार मैनाली र धरहराका बसन्तराज भट्टराईलाई समेत सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्णओम पोतेको अध्यक्षतामा आयोजित कार्यक्रममा मेयर प्रसाईं प्रमुख अतिथि रहेका थिए भने चेम्बर अफ कमर्सका सर्लाही अध्यक्ष रामभक्त प्रधान, वडाध्यक्ष शेख मेहबुब रेजा, नेकपाका जिल्ला सचिव कमल बुढाथोकी, नेपाली कांग्रेस हरिवन नगर सभापति रामशरण उप्रेती, भरतकुमार कार्की लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
कांग्रेसका युवा नेता विप्लव कार्कीको सञ्चालन एवं युवा व्यवसायी तथा संचारकर्मी भक्ति रिजालको स्वागत रहेको कार्यक्रमका वक्ताहरुले लाखौं मूल्य बराबरको जग्गा दान गरेर पोतेले सह्रानीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए ।

चेम्बर अफ कमर्सका पदाधिकारीहरुले निःशुल्क प्राप्त भएको जग्गामा भवन निर्माणका लागि पहलकदमी सूरु भईसकेको बताएका छन् ।