समुदायबीचको विवादले जनप्रतिनिधि र सुरक्षा प्रमुखको टाउको दुखाई

1
केही दिनअघि मलंगवा नगरपालिकाको हिन्दु–मुस्लिम विवादबारे छलफल गर्दै विभिन्न राजनैतिक दलका नेताहरु ।

मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका–३, विश्वकर्मा चौक र कौडेना गाउँपालिका–५, छपकहिया टोलको विवाद पेचिलो बन्दै गएको छ । ती दुवै ठाउँमा मुस्लिम र हिन्दु समुदायबीच उत्पन्न विवाद पूर्ण रुपमा समाधान भइसकेको छैन् ।

सम्वन्धित पालिकाका जनप्रतिनिधि तथा जिल्लाका सुरक्षा प्रमुखहरुलाई यि दुवै स्थानको विवाद अहिले निकै टाउको दुखाईको विषय बनिरहेको छ । कौडेनाको छपकहियामा दुवै समुदायले शव दाह संस्कार गर्ने स्थलको विषयमा विवाद चल्दै आएको छ । सोही विवाद बढ्दै गएर भदौ अन्तिम साता दुई समुदायबीच झडप हुँदा प्रहरीसहित केही मानिस घाईते भएका थिए ।

विवाद मिलाउन आइतवार दिनभर नै जिल्ला समन्वय समिति मलंगवामा छलफल चल्योे । तर कुनै निष्कर्ष निस्किएन् । पटक–पटक छलफल भएर आइतवारसम्म आइपुग्दा शव दाहसंस्कारमा प्रयोग हुँदै आएको जग्गा कुन प्रयोजनमा प्रयोग गर्ने भन्ने विवाद देखिएको छ । ‘विवाद मिलाउन हाम्रोतर्फबाट निरन्तर समन्वय भइरहेको छ’, उज्यालो अभियानसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘पालिका प्रमुख र अन्य जनप्रतिनिधिहरु पनि लागिपर्नु भएको छ ।’

यस्तै मलंगवामा हिन्दु समुदायले विश्वकर्मा पूजाको मूर्ति विर्सजन गर्न लैजाँदा मुस्लिम समुदायबाट अवरोध हुँदा असोज २ गते झडप भएको थियो । त्यसपछि दुई समुदायबीच तित्तता बढेको छ । सो विवाद मिलाउन पनि धेरै पटक छलफल भए । तर विवाद सुल्झिएको छैन् ।
मुस्लिम समुदायले विश्वकर्मा चौकलाई दाह चौक नामकरण गर्नुपर्ने माग राखेका छन् भने हिन्दु समुदायले पुरानै नाम रहन दिनुपर्ने बताएका छन् । मलंगवा नगरपालिकाका मेयर निरसल साहले आ–आफ्नो समुदायलाई सम्झाउन दुवैतर्फका अगुवाहरु निरन्तर लागिपरेका र आफूहरुले पनि त्यसमा समन्वय गरिरहेको बताए ।

‘विवाद मिल्दै गएको छ, केही कुरा बाँकी छ, त्यो पनि चाँडै मिलाउँछौँ’, मेयर साहले भने, ‘सहमति जुटाउन हामी भन्दा पनि दुवै समुदायका अगुवालाई सक्रिय बनाएका छौँ ।’ मलंगवा र कौडेना दुवै स्थानको विवाद मिलाउन जिल्लाका संघीय तथा प्रदेश सांसद समेतको उपस्थितिमा पनि छलफल भइसकेको छ ।

मलंगवा र कौडेनामा कुनै पनि बेला अवस्था बिग्रन सक्ने भन्दै प्रहरीले उच्च सुरक्षा सर्तकता अपनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवामा थप मद्धतमा प्रहरी समेत राखिएको छ ।