दिनभर विद्युत कट्दा उपभोक्ता मारमा

5

हरिवन – विहिबार दिनभर सर्लाही जिल्लाभर अवरुद्ध विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् ।

बुधबार रातीदेखि पानी परेपछि विहिबार बिहान उपभोक्ता उठ्दा विद्युत अवरुद्ध भईसकेको थियो । विद्युत सूचारु गर्न विहिबार दिनभर प्राविधिकहरु लागि परेका थिए । विहिबार साँझ ८ बजेबाट विद्युत नियमित सुचारु भएको छ ।

बागमती नदी पारी रौतहटको पौराही जंगलमा रुख ढलेर बिजुलीको पोल भाँचिनुका साथै तार चुँडिदा बिहानैदेखि जिल्लाभर विद्युत अवरुद्ध भएको प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिरकुमार रायले जानकारी दिए । विहिबार दिउँसो नै मर्मत सकेर सूचारु गर्ने भनिएपनि दिनभर पानी परिरहेकाले पोल फेर्न र तार गाँस्न कठीन भएकाले विद्युत सुचारु गर्न कठिनाई भएको रायको भनाई थियो । रायका अनुसार विद्युत सुचारु गर्नका लागि विहिबार दिनभर प्राधिकरणका कर्मचारी रौतहटको पौराई क्षेत्रमा अनवरत खटेका थिए ।

लालबन्दी, हरिवन, बरहथवा र मलंगवाका प्राविधिकहरु पौराही जंगल पुगेका थिए । विहिबार बिहानैदेखि विजुली नहुँदा जिल्लावासीलाई मोवाइल चार्ज गर्नदेखि बिजुलीबाट हुने अन्य काम गर्न समस्या भएको छ । चन्द्रनिगाहपुरबाट सर्लाही जिल्लाभरका लागि ल्याइएको ३३ केभी प्रशारण लाइनमा पटक–पटक यसरी खराबी आइरहन्छ । केहि दिनदेखि पानी परिरहँदा लाईनको समस्या बारम्बार आइरहेको छ ।

यसैबीच कुलमान घिसिङ नभएकैले बत्ती गयो भनेर धेरै गुनासो बढेपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त प्रमुख लेखनाथ कोइरालालाई बोलाएर समस्या समाधानको लागि निर्देशन दिएका छन् । झरीका कारण विद्युत वितरणमा आएको समस्यालाई पूर्ण शक्ति लगाएर समाधान गर्न मन्त्री पुनले निर्देशन दिएका हुन् । कसैले काम गर्न अटेर गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने जिम्मेवारी पनि रहेको भन्दै मन्त्री पुनले हल्लाको पछि नलागी काम गर्न निर्देशन दिएका छन् ।