टालटुले कामले पूर्व–पश्चिम राजमार्ग फेरि उस्तै, यात्रु मारमा

7
गत मंगलबार खाडलहरु टालटुल पारेपनि बुधबारदेखि नै पुनः क्षतविक्षत बनेको पूर्व–पश्चिम राजमार्ग । (तस्बिर : उज्यालो अभियान)

हरिवन – गत मंगलबार दिनभर सडक कार्यालयका मजदुरहरु हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरु टालटुल पारिरहेका थिए । अलकत्रमा मुछिएको साना खालका गिट्टी खाडलमा हालेर राजमार्ग सम्याईएको थियो ।

हरिवन, नयाँरोड, तीनघरे, बाँसाटोल स्थित राजमार्गमा बनेका ठूला–ठूला खाडलहरु त्यसरी पुरिएको थियो । तर त्यसरी पुरिएको २४ घण्टा नबित्दै राजमार्ग भत्किएर पुनः क्षतविक्षत बनेको छ । बुधबार दिउँसोबाट पुरिएका खाडलहरु फेरि जस्ताको तस्तै बनेका छन् । अझ नयाँ हालिएको अलकत्रमा मुछिएको गिट्टी छरपष्ट हुँदा राजमार्ग क्षेत्र झन कुरुप बनेको छ ।

दैनिक हजारौं सवारी साधन गुड्ने मुलुककै मुख्य पूर्व–पश्चिम राजमार्ग भत्केर ठूला–ठूला खाडलहरु बनेको महिनौ भईसकेको छ । महिनौंदेखि बनिरहेको खाडलहरु पुर्नका लागि प्रभावकारी ढंगले काम नहुँदा यातायात आवागमनका निकै कठिनाई भईरहेको यातायात व्यवसायी एवं मजदुरहरुले गुनासो गरिरहेका छन् ।

राजमार्ग किनार हिँड्ने पैदल, साईकल र मोटरसाईकल यात्रु पनि आजित भईरहेका छन् । ‘बस, ट्रक, जीप कार जस्ता चारचक्के सबारी साधनले खाडलमा जमेको पानी उछिट्याएर राजमार्ग किनारमा हिँडनै नसक्ने अवस्था छ’, हरिवनका युवा सुमन तिलक सिन्धालीले गुनासो गरे, ‘झारा टार्ने हिसाबले खाडलहरु टालटुल पारिँदा भोलिपल्टै राजमार्ग फेरि कुरुप बनेको छ ।’ सडक विभागका कर्मचारीले अनुचित लाभका लागि यसरी झाराटराई हिसाबले काम गर्दा राज्यको लाखौं बजेट डुब्ने सिन्धालीको तर्क छ ।

यता रौतहटको चन्द्रनिगाहपुर स्थित डिभिजन सडक कार्यालयका प्रमुख दरोगाप्रसाद भने तत्कालका लागि खाडलहरु पुर्ने काम गरिएको र ठेक्कै लगाएर प्रभावकारी मर्मत संभारको काम केही समयपछि हुने बताउँछन् । ‘ठेक्का मार्फत गुणस्तरीय ढंगले खाडलहरु पुर्ने सहित राजमार्ग मर्मत संभारको काम केही समयपछि मात्र हुन्छ’, उनले भने, ‘अहिले वर्षा भईरहेकाले कार्यालय आफैले अमानतमा सामान्य माल हालेर खाडल पुर्ने काम भईरहेको र वर्षा निरन्तर भईरहेकाले पुरिएको ठाउँमा पुनः भत्किएको हो ।’

गुणस्तरीय माल हाल्ने भन्दापनि तत्कालका लागि कमसल खालको माल हालिएकाले राजमार्ग पुनः भत्किएको उल्लेख गर्दै प्रमुख दरोगप्रसादले वर्षायाम सकिने वितिकै ठेक्का मार्फत गुणस्तरीय काम गराईने दाबी गरे । ‘लामो समय चर्को घाम लाग्ने समयमा त राजमार्ग मर्मत संभारका लागि ठेकेदारहरु तयार हुँदैनन्, झन यस्तो वर्षा भईरहेको समयमा त उनीहरु काम नै गर्न चाँहदैनन्’, दरोगाप्रसादले भने, ‘त्यसैले तत्कालका लागि अमानतमै खाडलहरु पुरिएको हो, वर्षा हुन छाड्ने बितिकै ठेक्कामार्फत गुणस्तरीय ढंगले मर्मत संभारको काम गराउने छौं ।’