वर्षाले घर लड्दा तीनलाखको क्षति

२०७७ साउन अन्तिम साता परेको अविरल वर्षाले सर्लाहीको मलंगवा नगरपालिका अन्तर्गत भाँडसरमा डुबानमा परेको घरहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – गएरातीदेखि परेको वर्षाका कारण सर्लाहीको हरिपूर्वामा एक घर लडेको छ ।

हरिपूर्वा नगरपालिका–४ साहपुर स्थित फेकन वैठाको खपडाले छाएको एकतले कच्ची घर लड्दा तीनलाख रुपैंया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षाको पानी जमेका कारण आज (विहिबार) दिउँसो वैठाको घर लडेको र मानविय एवं चौपाया लगायत भने क्षति नभएको प्रहरीले जनाएको छ । जिल्लाका अन्य स्थानमा कतै कुनै क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

त्यस्तै बागमती नदीमा अन्य दिनको तुलनामा ठूलो बाढी आएपनि खतराको तहमा भने नपुगिसकेको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ । आज (विहिबार) बिहानदेखि बागमतीमा पानीको बहाब बढेर साँढे ५ मिटर उचाईसम्म पुगेको प्रहरी नायब निरीक्षक मोहन कटुवालले जानकारी दिए । भुँईबाट पानीको सतह साँढे ६ मिटर पुगेपछि भने बागमती सिचाईं आयोजनाको ब्यारेजमा खतराको रातो झण्डा उठाईन्छ ।