मध्यरातमा सशस्त्र आईजीपीको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ।

कविलासी – सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशसत्र प्रहरी बलका सुरक्षाकर्मीलाई उच्च मनोबल सहित काम गर्न निर्देशन दिएका छन् ।

प्रदेश नम्बर २ को भारतीय सीमा क्षेत्र निरीक्षण गर्ने कार्यक्रम अन्तर्गत मंगलबार राती सर्लाही आईपुगेका सशस्त्र प्रहरी महानिरीक्षक खनालले मातहतका सुरक्षाकर्मीलाई उच्च मनोबल सहित देश सेवामा लाग्न निर्देशन दिएका हुन् । सशस्त्र प्रहरी १० नम्बर गण कविलासीमा आयोजित कार्यक्रममा सर्लाही जिल्लाभरका युनिट ईन्चार्जलाई निर्देशन दिँदै महानिरीक्षक खनालले कोरोना भाईरसको संक्रमणबाट जोगिँदै उच्च मनोबल सहित देश र जनताको सेवामा लागिपर्न भनेको एक सशस्त्र प्रहरी अधिकृतले जानकारी दिए ।

महानिरीक्षक खनालले कोरोना भाईरस संक्रमणबाट बँच्ने उपाय र समुदायलाई बचाउँने सम्बन्धमा पनि जानकारी गराउने उद्धेश्यले चिकित्सक सहितको टोली साथैमा लिएर आएका थिए । उक्त टोलीले कार्यक्रममा उपस्थित सशस्त्र प्रहरी अधिकृतहरुको ज्वरो नाप्ने र अक्सिजनको मात्रा हेर्ने काम समेत गरेको बताईएको छ ।

महानिरीक्षक खनालले जिल्लाभरका सशस्त्र प्रहरी युनिटलाई एक–एक थान पीपीई, थर्मल गन र सबै सुरक्षाकर्मीका लागि मास्क समेत प्रदान गरेको बताईएको छ । उनले भारतीय सीमा क्षेत्रबाट हुने अवैध क्रियाकलाप नियन्त्रण सहित मुलुकको सीमा रक्षाका लागि अहोरात्र खट्नका लागि सशस्त्र प्रहरी अधिकृत सहित मातहतका सबै सुरक्षाकर्मीलाई निर्देशन दिएको एक अधिकृतले जानकारी दिए ।

महोत्तरीबाट दिउँसै २ बजेतिर सर्लाही आउने भनिएपनि महानिरीक्षक खनाल राती ९ बजेतिर मात्र कबिलासी आईपुगेका थिए । दिउँसैदेखि तामझामका साथ कबिलासी स्थित गणमा तयारी गरिएको र जिल्लाभरका युनिट ईन्चार्जलाई बोलाईएको भएपनि महानिरीक्षक खनाल आउन करिब करिब मध्यरात नै भएको थियो । दिउँसैदेखि कबिलासी आएका सुरक्षा अधिकृतहरु हाईहाई काडेर बस्न बाध्य भएका थिए ।

हुलाकी राजमार्गबाट भारतीय सीमाक्षेत्रको निरीक्षण गर्दै आएकाले महानिरीक्षक खनाल सर्लाही आउन निकै ढिला भएको एक सशस्त्र प्रहरी अधिकृतले जानकारी दिए । ‘वर्षायाममा अत्यन्त बिग्रेको बाटोबाट भारतीय सीमा क्षेत्र निरीक्षण गर्दै आउनु भएकाले सर्लाही आईपुग्न निर्धारित समयभन्दा निकै ढिला भयो’, एक सशस्त्र प्रहरी अधिकृतले भने, ‘राती सबा १० बजेति पूर्व–पश्चिम राजमार्ग हुँदै रौतहटतर्फ लाग्नु भयो ।’ सर्लाहीबाट रौतहट जानका लागि भने बीचमा बागमती नदी पर्ने भएकाले हुलाकी राजमार्ग हुँदै जान नमिल्ने भएपछि महानिरीक्षक खनाल कबिलासीबाट नवलपुर हुँदै पूर्व–पश्चिम राजमार्गबाट रौतहटतर्फ लागेको ती सशस्त्र प्रहरी अधिकृतको भनाई थियो ।

सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आफू सहित जिल्लाभरका सशस्त्र प्रहरी अधिकृतलाई आवश्यक निर्देशन दिएको जानकारी दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ।