पोलिक्लिनिकमा सुत्केरी मृत्यु काण्ड : प्रतिवेदन आयो, कार्बाहीमा अन्यौलता

अनुमति नै नलिएपनि पटक पटक शल्यक्रिया गर्दा सुत्केरीको मृत्यु भईरहेको सदरमुकाम मलंगवा स्थित अमत्र्य पोलिक्लिनिक ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा स्थित अमत्र्य पोलिक्लिनिकमा शल्यक्रिया गर्दा सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे छानविन समितिको प्रतिवेदन आएपनि कार्बाही प्रकृयामा अन्यौलता देखिएको छ ।

दुई दिनअघि छानविन समितिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई उक्त घटनाबारे प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अनुसार कार्बाही प्रकृया अगाडी बढाईएको प्रजिअ पौजेलले जानकारी दिए । यद्यपी प्रतिवेदनमा उल्लेख भएअनुसार कार्बाही प्रकृया भने लम्बेतान हुने देखिएको छ ।

छानविन समितिको प्रतिवेदन आएपनि पीडित पक्षले उजुरी फिर्ता लिएकाले सिधै कार्बाही प्रकृया अगाडी बढाउन मिल्ने अवस्था नरहेको प्रजिअ पौडेलले बताए । ‘पीडित पक्षले दिएको उजुरी समेत फिर्ता लिएकाले उक्त पोलिक्लििनकमा भएको घटनामा क्षतिपूर्ति भराउन र आवश्यक कार्बाही गर्न कठिनाई भएको छ’, प्रजिअ पौडेलले भने, ‘छानविन समितिको प्रतिवेदनका आधारमा कार्बाही गर्ने निकायहरु स्थानीय सरकार, मेडिकल काउन्सिल लगायतमा कार्बाहीका लागि पत्राचार गर्ने छौं ।’

छानविन समितिले पेश गरेको प्रतिवेदन अनुसार आफूले कार्बाही प्रकृया अगाडी बढाएको प्रजिअ पौडेलले जानकारी दिए । ‘घटनाबारे विभिन्न संचारमाध्यमबाट जानकारी आएपछि पीडित पक्षले उजुरी फिर्ता लिएपनि मैले छानविन गर्न समिति गठन गरेको थिएँ’, प्रजिअ पौडेलले भने, ‘अब समितिले दिएको प्रतिवेदनका आधारमा आवश्यक कार्बाही प्रकृया अगाडी बढाएको छु ।’

जिल्ला स्वास्थ्य कार्यालयबाट बहिरंग (ओपीडी) र आकस्मिक सेवा सञ्चालनको मात्र अनुमति लिएपनि मलंगवा नगरपालिका–९ स्थित अमत्र्य पोलिक्लिनिकमा गएको भदौ १२ गते शल्यक्रिया मार्फत सुत्केरी गराईएकी मलंगगवा नगरपालिका–१० निवासी २४ वर्षीया सबिता भन्ने सहती कुमारीको भदौ १६ गते मृत्यु भएको थियो । मृतकको दाहसंस्कार नै गरिसकेपछि पनि विभिन्न संचारमाध्यममा घटना बाहिर आएलगतै र मृतक सविताका श्रीमान प्रमोद साहकी दिदी दुलारी देवीले आवश्यक क्षतिपूर्ति सहित घटनाबारे छानविन गर्न माग सहित ठाडो उजुरी दिएपछि प्रजिअ पौडेलले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामप्रमोद यादवको संयोजकत्वमा जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सुशिलकुमार झा र जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. अविनाश कुमार सिंह सदस्य रहेको छानविन समिति गठन गरेका थिए ।

यो पनि पढ्नोस्

पोलिक्लिनिकमा शल्यक्रिया गर्दा सुत्केरी मृत्यु काण्ड : कानूनी कारबाही गर्न अनेरास्ववियुको माग

मलंगवाको पोलिक्लिनिकमा अप्रेशन गरिएकी सुत्केरीको मृत्यु, सम्बन्धित निकाय मौन

समितिले दुई दिनअघि प्रजिअ पौडेलसमक्ष प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनको ३ नम्बर बुँदा ‘कसुर र सजाय सम्बन्धी व्यवस्था’ भन्ने शिर्षकको क उपबुँदामा जनस्वास्थ्य सेवा ऐन, २०७५ दफा २२ बमोजिम गैर सरकारी वा निजी स्वास्थ्य संस्थाले तोकिए बमोजिम ईजाजत पत्र नलिईं सेवा सञ्चालन गरेमा स्वास्थ्य संस्थाहरुको ईजाजत पत्र स्वतः खारेज भएको मानिने छ भनेर लेखिएको छ । ‘मुलुकी अपराध संहिता २०७४ दफा १७८ बमोजिम कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने कारण हुँदाहुँदै त्यस्तो काम गर्न हुँदैन तर सो कारणबाट कसैको ज्यान मरेमा कसुरदारलाई जन्मकैदको सजाय हुनेछ’, प्रतिवेदनमा भनिएको छ, ‘सोही संहिताको दफा १८१ बमोजिम कसैले लापरबाहीपूर्ण काम गरी कसैको ज्यान मार्न हुँदैन, सो बमोजिमको कसुर गर्ने व्यक्तिलाई दफा १७७, १७८ र १७९ को अवस्थामा बाहेक ३ देखि १० वर्षसम्म कैद र तीसहजार रुपैंया देखि एकलाख रुपैंयासम्म जरिवाना हुनेछ ।’ त्यस्तै नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा १७ (ख) बमोजिम पेशा सम्बन्धी कुनै खराब आचरणको दोषि हो भने काउन्सिलको सदस्य संंख्याको दुइतीहाई बहुमतले ठह¥याएको दर्तावाला चिकित्सकको नाम दर्ताबाट हटाउन सक्ने समेत प्रतिवेदनमा औंल्याईएको छ ।

प्रतिवेदनको अन्तिम ६ नम्बर बुँदामा ‘सिफारिस तथा सुझाव’ शिर्षक भन्दै कार्बाही प्रकृयाका बारेमा प्रश्ट्याउन खोजिएको छ । तर उक्त बुँदामा भनिए अनुसार विभिन्न निकायमा जिम्मेवारी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई भने कार्बाहीको प्रकृयाबाट स्पष्ट चोख्याईएको छ । ‘स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (४) (ख) बमोजिम जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमनको अधिकार स्थानीय तहलाई प्राप्त भए अनुसार यस प्रतिवेदनको शिर्षक कसुर र सजाय सम्बन्धी बुँदा नम्बर ५ बमोजिमको प्रकरण (क) का सन्दर्भमा पालिकाहरुमा आवश्यक कार्बाहीका लागि पठाउने’, प्रतिवेदनको ६ नं. बुँदामा लेखिएको छ, ‘प्रकरण (ख) को सन्दर्भमा अनुसन्धान अधिकारी समक्ष पेश गर्नुपर्ने, प्रकरण (ग), (घ) र (ङ) को सन्दर्भमा रितपूर्वकको जाहेरी पेश भई आएमा कानून बमोजिम हुने र प्रकरण (च) को सन्दर्भमा आवश्यक कार्बाहीका लागि मेडिकल काउन्सिलमा सिफारिस गर्न सकिने देखिन्छ ।’

छानविन समितिको प्रतिवेदन अनुसार सरोकारवाला निकायलाई आवश्यक कार्बाही प्रकृया अगाडी बढाउन पत्राचार गरिने प्रजिअ पौडेलले जानकारी दिए । ‘अब स्थानीय सरकारको रुपमा रहेको मलंगवा नगरपालिका कार्यालय, नेपाल मेडिकल काउन्सिल लगायतमा अमत्र्य पोलिक्लिनिकलाई आवश्यक कार्बाही गर्नका लागि पत्राचार गर्दैछौं’, प्रजिअ पौडेलको भनाई थियो ।

मृतक सविताका श्रीमान प्रमोदकी दिदी दुलारी देवीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल समक्ष अमत्र्य पोलिक्लिनिकमा शल्यक्रिया गर्दा बुहारीको मृत्यु भएकाले घटनाबारे छानविन तथा उचित क्षतिपूर्ति माग सहित घटना भएको सातादिन पछि ठाडो उजुरी दिएकी थिईन् । पहुँच र आर्थिक अवस्थाका हिसाबले अत्यन्त कमजोर रहेकाले पीडित पक्षले डराई डराई उजुरी दिएको थियो । तर उक्त उजुरी दिएको दुई दिनपछि नै दबाब र आर्थिक प्रलोभन देखाईएपछि पीडित पक्षले सो ठाडो उजुरी फिर्ता लिएको छ । प्रजिअ पौडेलका अनुसार आबेशमा आएर पहिला ठाडो उजुरी दिएको भन्दै पीडित पक्षले दुई दिनपछि नै उक्त पोलिक्लिनिकको कुनै दोष नरहेको भनेर अर्को निवेदन दर्ता गराएका छन ।

मृतकका आफन्तका अनुसार शल्यक्रिया गरेकै पोलिक्लिनिकमा सबिताको मृत्यु भएको थियो । ‘भदौ १६ गते मंगलबार बिहान ३ बजेतिर लौ तत्काल जनकपुर लैजानोस् भन्दै उनीहरुले नै एम्बुलेन्स खोजेर ठिक पारिसकेका रहेछन्, एम्बुलेन्स चालक र अस्पतालका कर्मचारी मिलेर सबितालाई एम्बुलेन्समा राख्दा नै उनको मृत्यु भईसकेको थियो’, मृतककी आमाजु दुलारी देवीले भनिन्, ‘चाँडो लेर गईहाल्नोस् भन्दै जबर्जस्ती पठाए, एम्बुलेन्समा हाँमी तीनजना थियौँं, लक्ष्मिपुर पुग्दा नपुग्दै एम्बुलेन्सका चालकले सबिताको मृत्यु भईसकेको भन्दै घर फर्काउन पो भने, अनि हाँमीले डाक्टरलाई नदेखाई त घर फर्कदैंनौ भनेपछि एम्बुलेन्स चालकले नै त्यतैतिरको डाक्टरसाबलाई देखाउन लगाउँदा मृत्यु भईसकेको भनियो ।’ सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा १७ किलोमिटर उत्तर लक्ष्मिपुर पुग्दा नपुग्दै एम्बुलेन्स चालकले नै ‘बिरामीको मृत्यु भईसक्यो, अब घर फर्कौं’ भन्नुले सबिताको पोलिक्लिनिकमै मृत्यु भईसकेको भन्ने आफन्तको भनाईमा सत्यता देखिन्छ । पोलिक्लिनिकमै मृत्यु भएको देखाउँदा समस्या आईपर्ने देखेर हतार हतार सबितालाई जनकपुर रेफर गरिएको आफन्तको आरोप छ । पोलिक्लिनिकका सञ्चालक डा. सुरेन्द्र कुमार भने सुत्केरी महिलाको उपचारका लागि जनकपुर लैजादैं गर्दा बाटैमा मृत्यु भएको दाबी गरिरहेका छन् ।

पीडित परिवारलाई गलाईयो

पोलिक्लिनिकका संचालक डा. सुरेन्द्र कुमारलाई कानूनी कार्बाहीबाट जोगाउनका लागि जिल्ला स्थित विभिन्न राजनैतिक दलका नेताहरु घटना बाहिर आएदेखि नै लागि परेका थिए । स्थानीयका अनुसार घटना बाहिर आएलगतै डा. सुरेन्द्र पक्षले पीडित पक्षलाई उजुरी नदिन र घटनाबारे कुनै उजुरबाजुर नगर्न दबाब दिँदै आएको थियो । दबाबकै कारण पीडित पक्ष उजुरी फिर्ता लिन बाध्य भएको हो । ‘जिल्लाका सभापति अनि स्थानीय सरकारका प्रमुख नै लागिपरेपछि निमुखा परिवारले पीडक पक्षलाई कार्बाहीका लागि उजुरी त परेजाओस् जति हुन्छ त्यतिमै चित्त बुझाउनुको के विकल्प हुन्थ्यो र ?’ एक स्थानीयले प्रतिप्रश्न गर्दै भने, ‘यस्तो अवस्था भएपछि निमुखा, श्रमजीवि र पीडित वर्गले कहिल्यैपनि न्याय पाउने अवस्था रहेन, पीडित पीडित नै रहने भए अनि पीडक पीडक नै बनिरहने भए ।’

जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकै दिन डा. यादव पक्षका केही व्यक्तिहरु मृतकका श्रीमान प्रमोद साहलाई कागज नै गराउने उद्धेश्यले लेखन्दास नै लिएर गएका थिए । मेरो श्रीमति आफ्नै कालगतिले मरेको हो र डाक्टरको कुनै दोष छैन भन्ने कागज गराउँदै ६६ हजार रुपैंया दिने गरी उक्त टोली पुगेको स्थानीयले बताए । तर स्थानीय एकदुई जना गएपछि उनीहरु कागज नै नगराई त्यसै फर्किएका थिए ।

निकै प्रयास अनि धम्की पश्चात पीडित परिवारलाई पीडक पक्षले गलाएरै छाडे । पीडक पक्षले क्षतिपूर्तिका नाममा ‘खसीबाख्रा किनबेच गरेजस्तो’ मोलमोलाई गरेर अत्यन्त आर्थिक अवस्था कमजोर रहेको पीडित पक्षलाई दुईलाख मै गलाएरै छाडेको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीका अनुसार पोलिक्लिनिकको तर्फबाट पीडित परिवारलाई दुईलाख एकहजार रुपैंया दिलाईएको छ । ‘पोलिक्लिनिकको तर्फबाट पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप दुईलाख एकहजार रुपैंया दिलाउनका लागि पहल भईरहेको छ’, पीडित परिवारलाई राहत स्वरुप नगद र खाद्यान्न सहयोग दिने क्रममा बोल्दै चौधरीले भनेका थिए, ‘प्रदेश, स्थानीय सरकार लगायतबाट पनि थप राहतका लागि पहल गर्दैछु ।’ समन्वय समितिका प्रमुख चौधरी, मलंगवा नगरपालिकाका मेयर निरसल साह लगायत घटनालाई मिलाउने कसरतमा लागेका थिए । जुन अभियानमा उनीहरु दुवैजना सफल भएका मात्र छैनन्, पीडितको मुखमा बुझो लगाउन समेत सफल भएका छन् ।

यता सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल अभियन्ता भोर नामक गैर सरकारी संस्थाका संस्थापक अध्यक्ष राजकुमार महतो भने अनुमति नै नभएको पोलिक्लिनिकमा शल्यक्रिया गर्दा ज्यान गुमाएकी पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र पीडकलाई कानून अनुसार कडा कार्बाही गर्नुपर्ने बताउँछन् । ‘अनुमति नै नपाएको पोलिक्लिनिकमा शल्यक्रिया गर्दा एक महिलाको अनाहकमा ज्यान गएको छ, नवजात शिशु टुहुरो बनेका छन्, यस्तो घटनामा सिधै कानूनी कारबाही गर्नुपर्छ’, महतोले भने, ‘सवारी दुर्घटनामा मृत्यु हुँदा त पीडित परिवारले पाँच लाख रुपैंया पाउँछन्, यो त अनुमति नै नपाएको स्वास्थ्य संस्थाले शल्यक्रिया गर्दा महिलाको मृत्यु हुने अनि एक बालक टुहुरो हुने मात्र हैन एक परिवारको विचल्ली नै भएको छ, त्यसैले पीडित परिवारले उचित क्षतिपूर्ति पाउनु पर्ने र पीडकलाई कानूनी कार्बाहीको दायरामा ल्याउनुपर्ने कुरामा कुनै सम्झौतै हुन सक्दैन ।’

नेपाल मानव अधिकार संगठन सर्लाहीका अध्यक्ष रजनिकान्त झा पनि शल्यक्रियाको अनुमति नै नपाएको उक्त अमत्र्य पोलिक्लििनकका सञ्चालकलाई कडा कानूनी कारबाहीको दायरामा ल्याउनु पर्ने बताउँछन् । ‘अनुमति नै नपाएको पोलिक्लिनिकमा अप्रेसन मार्फत सुत्केरी गराईनु सरासर कानूनको बर्खिलाप हो, त्यसमाथि महिलाहरुको अनाहकमा ज्यान समेत गईरहेको छ, यो मात्र हैन जिल्लाभरका अनुमति नलिई चलिरहेका स्वास्थ्य संस्था र उपचारमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याउनु जरुरी छ’, पूर्व प्रअ समेत रहेका अध्यक्ष झाले भने, ‘पीडित परिवारलाई पीडकको तर्फबाट लुकाएर भन्दापनि उचित क्षतिपूर्ति भराउनु पर्छ ।’

जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका मेयर निरसल साह लगायतको सकृयतामा पीडित परिवारलाई पोलिक्लिनिकका सञ्चालक डा. सुरेन्द्रको तर्फबाट क्षतिपूर्ती स्वरुप दुईलाख एकहजार रुपैंया उपलब्ध गराईएको छ । त्यस्तै उपचारबापत लिएको ४७ हजार रुपैंया समेत फिर्ता गरिएको छ ।

यसअघि पनि मरेका थिए सुत्केरी

उक्त पोलिक्लिनकमा २०७६ बैशाख ६ गते शल्यक्रिया मार्फत सुत्केरी गराउँदा बरहथवा नगरपालिका–१८, श्रीपुर माईती भई कविलासी नगरपालिका–३, विनंग्रा निवासी सुगन्धी देवीको मृत्यु भएको थियो । सुगन्धी देवीकी डेढ वर्षीया छोरी करुणालाई विनंग्रा स्थित घरमै हजुरआमा नगिना देवीले हुकाईरहेकी छिन् ।

यी दुई भिडियो पनि हेर्नोस्

पोलिक्लिनिकको अबैध धन्दा, सुत्केरी मार्दै पैसा तिर्दै

चार दिनमै टुहुरो बने बालक, सुत्केरीको मृत्यु अखडा बन्दै अबैध पोलिक्लिनिक

मुद्धा हाल्छु भनेपछि डा. सुरेन्द्रकुमारले त्यतिखेरै पीडित परिवारलाई तीनलाख रुपैंया समेत दिएका छन् । हाल उक्त रकम डेढ वर्षीया करुणाको नाममा उनका बुबा संजिव यादव र मृतक सुगन्धीदेवीका बुबा भुपनारायण राय संरक्षक रहने गरी बैंक खातामा राखिएको छ ।
त्यस्तै बरहथवा नगरपालिका–१८, श्रीपुर नै घर र माईती भएकी करिब ३२ वर्षीया लालपरी देवीको पनि सोही पोलिक्लिनिकमा शल्यक्रिया मार्फत सुत्केरी गराउँदा मृत्यु भएको उनकी आमा सुगावती देवीले गुनासो गरिन् । सुत्केरी गराउनका लागि उक्त पोलिक्लिनिकमा धेरै भिडभाड रहने र अधिकांशको शल्यक्रिया हुने गरेकोले अझै धेरै सुत्केरीको मृत्यु भएको स्थानीय अनुमान गर्छन् ।

यसरी अनुमति नै नलिई पटक–पटक शल्यक्रिया गर्ने र सुत्केरी महिलाको मृत्यु हुने गरेपनि अमत्र्यका संचालक डा. सुरेन्द्रकुमारलाई ठोस कानूनी कार्बाही नहुनु दुःखद रहेको सामाजिक अभियन्ता महतो बताउँछन् । ‘अनुमति नै नलिई जानाजानी सुत्केरी महिलाहरुको हत्या भएको छ, यस्तो अवस्थामा त सिधै कर्तव्य ज्यानमा कार्बाही प्रकृया चल्नुपर्ने हो’, उनले भने, ‘छानविन समिति बनाएर कार्बाही प्रकृया लम्ब्याउनु भनेको पीडकलाई उन्मुक्ति दिने प्रयास हो ।’

नेपाल मानवअधिकार संगठन सर्लाहीका अध्यक्ष झा पनि ईजाजत नै नलिई शल्यक्रिया गर्ने र भकाभक सुत्केरी महिलाको मृत्यु भईरहेको पोलिक्लिनिकका संचालकलाई कार्बाही गर्न हिच्किचाउन नहुने बताउँछन् ।

सरकारी अस्पतालले उचित सेवा नदिने अनि यस्ताखाले पोलिक्लिनिक लगायत अनुमति नै नपाएका जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरुमा शल्यक्रिया मार्फत सुत्केरी गराउँदा अनाहकमा दर्जनौं आमाहरुले ज्यान गुमाईरहेका त छन् नै धर्तीमा पाईला टेक्ने वितिकै नवजात शिशुहरुले टुहुरो बनिरहनु परेको छ ।