चन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

1
जिल्ला प्रहरी कार्यालय मलंगवाले भारतबाट भित्र्याउँदै गरेको अवस्थामा बरामद् गरी केही दिअघि सार्वजनिक गरेको लागूऔषध एवं नगद सहितका सामानहरु । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरबाट गएराती लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी सहायक निरीक्षक (असई) सोनेलाल साहको कमाण्डमा खटिएको गस्ती टोलीले चक्रघट्टा गाउँपालिका–९, का २८ वर्षीय राजदेव यादव र १६ वर्षीय राहुल यादवलाई २२५ वटा नाईट्राभेट ट्याब्लेटसहित पक्राउ गरेको हो । दक्षिणतर्फ भारतबाट ना. २९ प ७३१८ नम्बरको मोटरसाइकलमा लागूऔषध लिएर आउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीले केही दिनदेखि दिनहुँ जसो नेपालबाट भारत र भारतबाट नेपालतर्फ ओसारपसार हुने लागूऔषध बरामद गरिरहेको छ । आइतवार साँझ मात्रै नवलपुरस्थित जुटपानीमा दक्षिणतर्फबाट अटोमा हालेर ल्याउँदै गरिएको ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ परेका थिए ।