रोजगारीका लागि भारत फर्किने नेपालीको लर्को

मलंगवा – सर्लाहीको दक्षिणी भेगका गाउँहरुबाट रोजगारीका लागि भारत फर्किनेहरु बढेका छन् ।

भारतमा कोरोना संक्रमणको दर दिनहुँ तीव्र रुपमा बढिरहे पनि मजदुरी नगर्दा परिवार पाल्नै गाह्रो भएको भन्दै यहाँबाट दैनिक कामको खोजीमा ठूलो संख्यामा स्थानीयहरु भारततर्फ गइरहेका हुन् । सीमावर्ती गाउँ गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र यादवले आफ्नो नगरपालिकाबाट सयौंको संख्यामा स्थानीयहरु कामको खोजीमा भारतका विभिन्न राज्यमा गइरहेका जानकारी दिए ।

उनका अनुसार गोडैताका २४ वटा गाउँमध्ये प्रत्येक गाउँबाट तीन/चार सय स्थानीय रोजगारीका लागि भारत गएका छन् । नेपाली कामदार लिन भारतका विभिन्न स्थानबाट रिजर्भ बसहरु सीमावर्ती बजारका बस पार्कमा आएर बस्ने गरेका छन् । रिजर्भ बसहरुमा भारतीय रुपियाँ तीन हजार सम्म भाडा तिरेर कामदारहरु काम गर्ने स्थलसम्म पुग्छन् ।

सीमावर्ती क्षेत्रमा पर्ने बलरा नगरपालिकाबाट पनि रोजगारीका लागि भारत जानेहरुको लर्को रहेको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिए । स्थानीय स्तरमा रोजगारी उपलब्ध नभएकाले कोरोना सङ्क्रमणकै बीचमा बाध्य भएर भारत जानु परेको स्थानीयहरुले बताउने गरेका छन् ।

सर्लाहीबाट बढी मात्रामा पञ्जाब, दिल्ली, मुम्बई र सुरतमा धेरै कामदारहरु जाने गर्छन् । त्यहाँ पुग्नेहरुले विभिन्न उद्योग, कल कारखानामा तथा उखु काट्ने, गहुँ भित्रयाउने लगायतको काम गर्ने गरेका छन् ।