नवलपुरको विद्युत सबस्टेशन निर्माणमा तिब्रता, सर्लाहीबासीले अनियमित विद्युत कटौतीको समस्या व्यहोर्नु नपर्ने

6
सर्लाहीको नवलपुरमा निर्माणाधीन ग्रीड सबस्टेशन । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – लालबन्दी नगरपालिका–१, नवलपुरमा नेपाल विद्युत प्राधिकरणको ग्रीड सबस्टेशन निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

सर्लाहीमा विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउने उद्देश्यले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरस्थित लखन्देही खोला नजिकै १३२/३३ केभिएको ६३ एमभीए क्षमताको ग्रिड सबस्टेशन निर्माण कार्य चलिरहेको हो । भारतीय कम्पनि पावर टेक र नेपाली वाइवा कम्पनिले ‘ज्वाइन्ट भेन्चर’मा ग्रीड सवस्टेशन निर्माणको काम भईरहेको नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिकल सुपरभाईजर सुशील यादवले उज्यालो अभियानलाई जानकारी दिए ।

यादवका अनुसार यसै आर्थिक वर्षभित्र ग्रीड सवस्टेशनको काम पूरा गर्ने लक्ष्य रहेको छ । अघिल्लो आर्थिक वर्षको भदौदेखि काम सुरु गरेको भएपनि कोरोना संक्रमणको त्रासले गत चैतमा नै भारतीय मजदुर घर फर्किएपछि अहिले नेपाली मजदुरहरुको प्रयोग गरी धमाधम काम भइरहेको यादवले बताए । उनले भने, ‘सुरुमा धेरैजसो भारतीय कामदारहरु थिए, लकडाउन भएपछि उनीहरु सबै घर फर्किसकेका छन्, अहिले अधिकांश नेपाली कामदारहरु छन्, त्यसमा पनि अधिकांश सप्तरीका हुन् ।’

ग्रीड सबस्टेशनका लागि आवश्यक पर्ने ट्रान्समिटरहरु ल्याइसकिएको छ । अन्य उपकरणहरु पनि आवश्यकता अनुसार मगाउने काम भइरहेको इलेक्ट्रिकल सुपरभाईजर यादवले बताए । ‘आवश्यक सामग्रीहरु आउने क्रममै छ, अहिलेसम्म सिभिल वर्कको काम लगभग ८० प्रतिशत पूरा भइसकेको छ’, यादवले भने, ‘ट्रान्समिसनका लागि सर्भेको काम पूरा गरिसक्यौँ, काम भने सुरु हुन बाँकी छ ।’

नवलपुरमा ग्रीड सबस्टेशन निर्माण सम्पन्न भएपछि सर्लाही जिल्लाभरका लागि रौतहटको चन्द्रनिगाहपुरबाट ल्याइएको ३३ केभिए प्रशारण लाईनलाई काटेर नवलपुरबाटै चार्ज गरी दुईवटा सर्किट मार्फत हरिपुर र मलंगवा वितरण सवस्टेशन हुँदै बिजुली प्रवाह गरिने छ । यादवका अनुसार बरहथवा वितरण सबस्टेशनमा भने यहाँको लाईन जोड्ने वा नजोड्ने भन्ने टुंगो लागिसकेको छैन् ।

नवलपुरको ग्रिड सबस्टेशन निर्माण भएपछि सर्लाहीमा अहिलेको जस्तो बेलाबेलामा विद्युत कटौति भइरहने समस्याको अन्त्य हुने प्राविधिकहरुले बताएका छन् । नवलपुरमा ग्रिड सबस्टेशन बनेपछि अहिलेको जस्तो प्राधिकरण र उपभोक्ता दुवैलाई हैरानी नहुने प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले बताए ।

सानो हावाहुरी तथा पानी पर्नासाथ जंगलमा रुखका हांगा भाँचिएर बिजुलीको तारमा पर्दा सर्लाहीमा घण्टौंंसम्म विद्युत ठप्प हुने गरेको छ । ‘सर्लाहीको लाईन भनेको जंगल भएर निस्किएको लाईन हो, पटक–पटक रुखका हाँगा खस्ने, पोल भाँचिने समस्या देखिँदै आएको छ’, यादवले भने, ‘नवलपुरमै सव स्टेशन बनेपछि यो समस्या हट्छ भन्नेमा विश्वस्त छौँ ।’
फोटो क्याप्सन ः सर्लाहीको नवलपुरमा निर्माणाधीन ग्रीड सबस्टेशन । (तस्बिर ः उज्यालो अभियान)