सयौं सर्बसाधारणको घेरामा बरहथवा प्रहरी

3
ईलाका प्रहरी कार्यालय बरहथवा बाहिर जम्मा भएको भिड । (तस्बिर : भागनारायण गुप्ताको फेसबुक वालबाट)

बरहथवा – सर्लाहीको बरहथवास्थित ईलाका प्रहरी कार्यालयमा परिसरमा आज (शुक्रबार) दिउँसो देखि ठूलो संख्यामा सर्वसाधारण जम्मा भएका छन् ।

केही दिनअघि बसबरिया गाउँपालिकामा राँगाले बाली खाएको विषयमा दुई पक्षबीच कुटाकुट भएको थियो । सोही विषयमा दुवै पक्षलाई राखेर प्रहरी कार्यालयभित्र छलफल भइरहँदा, बाहिर भने ठूलो संख्यामा सर्वसाधारण जम्मा पारिएका हुन् । सामान्य विषय भएपनि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राजनीतिक मुद्दा बनाएर प्रहरी कार्यालयमै ठूलो संख्यामा कार्यकर्ता उतारेको एक जानकारले बताए ।

कार्यालयभित्र भइरहेको छलफलमा प्रदेश सभा सदस्य वीरेन्द्र सिंह, पूर्व सांसद् हरेष महतो लगायतका जनप्रतिनिधि सहभागी भएका छन् । ठूलो संख्यामा सर्बसाधारण जम्मा भएकाले सतर्कता अपनाउँदै ईलाका प्रहरी कार्यालय बरहथवाको हाताभित्र उल्लेख्य संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तैनाथ गरिएको छ । बरहथवाका डीएसपी उद्धवसिंह भाटले सामान्य विषयलाई राजनीतिक मुद्दा बनाई मास नै उतार्नु गलत भएको बताए । उनले दुवै पक्षका प्रतिनिधि राखेर छलफल गरिरहेको जानकारी दिए ।