विद्यार्थीले दिए खाजा खर्च जोगाएर विपन्न ६० परिवारलाई राहत

2
विपन्न परिवारलाई राहत सामग्री प्रदान गरिँदै । (तस्बिर : उज्यालो अभियान)
विद्यार्थीबाट पाएको राहत सामग्री बोकेका एक स्थानीय । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – पूर्व–पश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर बजार देखि उत्तर लखन्देही खोला किनारमा बसोवास गरिरहेका विपन्न दलित परिवारलाई विहिबार राहत प्रदान गरिएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरुको संस्था रोट¥याक्ट क्लब अफ मणिपालले ६० जना विपन्न परिवारलाई राहत वितरण गरेको हो । लखन्देही खोला किनार स्थित खेल मैदानमा स्थानीय मुसहर, चमार, डोम लगायत दलित जातीका ६० परिवारलाई राहत प्रदान गरिएको क्लबका प्रतिनिधि नवलपुर निवासी बोधराज बुढाथोकीले जानकारी दिए । मणिपाल कलेजमा पढ्ने विद्यार्थीहरुले अभिभावकबाट पाएको खाजा खर्च बापतको पैसाबाट जोगाएर जम्मा पारेको रकमले मुलुकका विभिन्न स्थानमा राहत वितरण गर्दै आएको र यसपटक मणिपालमा एमबीबीएस तेस्रो वर्ष अध्ययनरत नवलपुर निवासी बुढाथोकीको पहलमा ६० विपन्न परिवारलाई विहिबार दिउँसो राहत वितरण गरिएको हो ।

प्रति परिवार २५ किलोको एक बोरा चामल, एक किलो स्वायबिन, एक पोका नुन, मास्क र साबुन वितरण गरिएको थियो । त्यस्तै राहत वितरण कार्यक्रममा उपस्थित सम्पूर्णलाई हात धुने, मास्क लगाउने, सामाजिक एवं भौतिक दुरी कायम गर्ने लगायत विषयमा सचेतना समेत जगाईएको थियो ।