बाढीले धान खेत बगाएपछि किसान चिन्तित

5

कालिन्जोर – कालिन्जोर खोलामा आएको बाढीले धान खेत बगाएपछि सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानीगञ्ज टिकुलियाका किसान चिन्तित भएका छन् ।

तीन दिनदेखि भइरहेको वर्षापछि खोलामा आएको बाढीले र यसअघि साउनमा आएको बाढीले पाँच बिगाह बढी धान खेत कटान गरी बगरमा परिणत गरेको स्थानीय किसान गोपाल अधिकारीले जानकारी दिए । खोलाले धार परिवर्तन गरी थप खेत कटान गर्ने जोखिम रहेको किसानहरुले बताएका छन् । बाढीले टिकुलियाकै झण्डै डेढ बिगाह धान खेत बगाएको अधिकारीले बताए ।

खोला नजिकै आएपछि फेरि बाढी आएर बगाउने त्रासले छेउछाउका केही किसानले पसाउने बेला भएको धान काटेर पशु चौपायलाई खुवाउन थालेका छन् । कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिदिन वडा कार्यालय र नगरपालिकामा आग्रह गरेपनि बजेट छैन् भन्ने जवाफ पाएको किसानहरुले बताएका छन् । विभिन्न खोलामा आएको बाढीले सर्लाहीका अन्य स्थानमा पनि खेतीयोग्य जमिन कटान गरिरहेको छ ।

वर्षाले साथ दिँदा सर्लाहीमा यस वर्ष धान खेती हुने झण्डै ४६ हजार हेक्टर जग्गामध्ये अधिकांश फाँटमा रोपाइँ भएको जिल्ला कृषि ज्ञान केन्द्र, मलंगवाका निमित्त प्रमुख देवानन्द यादवले जानकारी दिए । उनले रोपाइँ लगत्तै साउनमा भारी वर्षापछि डुबान तथा कटान र अहिले पुनः केही दिनदेखि वर्षा हुँदा कटानको समस्या देखिएको बताए ।