पाँचजना कर्मचारीमा कोरोना देखिएपछि नापी कार्यालय मलंगवा ‘सिल’

2
सदरमुकाम मलंगवा स्थित नापी कार्यालय ।

मलंगवा – एकै पटक पाँच जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि नापी कार्यालय मलंगवा एक हप्तालाई ‘सिल’ गरिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को मंगलबार दिउँसो बसेको बैठकले सात दिनका लागि नापी कार्यालय मलंगवा बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार नापी कार्यालयका एक जना अमिन, एक जना सर्वेक्षक र तीन जना कार्यालय सहयोगीमा कोरोना भाईरस पोजिटिभ पाइएको हो ।

मलंगवा नगरपालिकाले संकलन गर्ने क्रममा उनीहरुले भदौ २२ गते थ्रोट स्वाब दिएका थिए । उनीहरुको रिपोर्ट सोमबार नै आएको भएपनि नगरपालिकाका स्वास्थ्यकर्मीले बेलैमा जानकारी नदिँदा मंगलबार मात्र थाहा भएको हो । संक्रमण पुष्टी भएकाहरुले मंगलबारसम्म पनि अन्य कर्मचारी र सेवाग्राहीहरुसँग घुलमिल भएर काम गरेका नापी कार्यालय मलंगवाले जनाएको छ ।

संक्रमित कर्मचारीमा कोरोना भाइरसको कुनै लक्षण भने नदेखिएको र उच्च मनोवल बनाई घरमा बस्न भनिएको कार्यालय प्रमुख एवं प्रमुख नापी अधिकृत नसिमुल गनीले बताए । स्वाब दिएपछि पनि कर्मचारीहरुले बाध्यताबस भीडभाडमै बसेर सेवा प्रवाह गरेकाले यसबिचमा नापी कार्यालय मलंगवामा सेवा लिन आएका सेवाग्राहीहरुलाई सावधानी अपनाउन कार्यालय प्रमुख गनीले आग्रह गरेका छन् ।

समुदाय स्तरमा अत्यधिक संक्रमण पाइएपछि एक महिना बन्द गरिएका सर्लाहीका सरकारी कार्यालयहरु अघिल्लो साताबाट खुलेका हुन् । धेरै दिनपछि खुलेका प्रशासन, नापी, मालपोत लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।